रङ्गमञ्चमा वर्षाको डेव्यु, अमेरिकामा गर्दैछिन् ‘हिटलर आउँदैछ’

रङ्गमञ्चमा वर्षाको डेव्यु, अमेरिकामा गर्दैछिन् ‘हिटलर आउँदैछ’

द सिनेमा टाइम्स
511
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा राउतले नाटकमा डेब्यु गर्ने भएकी छन् । विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’बाट वर्षाले रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । यही नाटकबाट वर्षासँगै जोयस पाण्डेले पनि अभिनयमा डेब्यु गर्दैछन् ।

जोयश सिनेमा ‘साँघुरो’का निर्देशक समेत हुन् । यो नाटकमा जोयश र विमलको संयुक्त लेखन छ । अमेरिकाको ओहायो राज्यस्थित एक्रोन सिभिक थिएटरमा नाटक मञ्चन गरिनेछ । आइतबार सोही थिएटरमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त व्यक्तिहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकबारे जानकारी गराइएको थियो ।

नाटकको पत्रकार सम्मेलन कार्यक्रममा उपस्थित भएकी ओहायो राज्यमा पर्ने तालमेज क्षेत्रकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन् । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक सुवेदीले अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण रहेको बताए ।

भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक र पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको सुवेदीको भनाई छ । आगामी भदौ २३ गते नाटक वल्र्ड प्रिमियर हुनेछ । वर्षा यही नाटकका लागि अमेरिका पुगिसकेकी छिन् ।

‘नाटकबाट आएका धेरै कलाकारसँग सिनेमामा काम गरेकाले मलाई नाटक गर्ने र सिक्ने चाहना पहिल्यैदेखि थियो । यो मौका यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु । यो नाटकबाट धेरै कुरा सिक्न पाउनेमा विश्वस्त छु,’ उनले भनिन् । यतिबेला रिहर्सल चलिरहेको यो नाटकमा अभिनय गर्न आफू उत्सुक रहेको उनले बताइन् ।