राजनीतिज्ञले नेपाली सिनेमा नोटिस गर्न थालेका हुन् ?

राजनीतिज्ञले नेपाली सिनेमा नोटिस गर्न थालेका हुन् ?

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । शंकर घिमिरे निर्देशित सिनेमा ‘तेल भिसा’को इन्डक्ल्यापमा पुगेर चितवनको भरपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यो सिनेमा हलमा गएर हेर्ने बताइन् ।

सिनेमाले उठान गरेको विषयवस्तु गहन रहेकाले आफू हलमा गएर सिनेमा हेर्न उत्सुक रहेको उनको भनाइ थियो । सिनेमाले समाजका गहन विषयवस्तु उठाउनुपर्नेमा उनको जोड थियो । समाजमा थुप्रै गहन विषय रहेको र त्यस्ता विषय सिनेमाले उठान गर्नुपर्ने उनको धारणा थियो ।

अक्सर नेपाली राजनीतिज्ञ सिनेमा हेर्दैनन् । सिनेमाबारे खासै जानकारी पनि राख्दैनन् । त्यसैले कोही राजनीतिज्ञले सिनेमाको सुटिङमै पुगेर यति भन्नु पनि उपलब्धी हो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी रेनुले सिनेमा हेर्छु मात्र भनिन्, उनले भरतपुरमा सिनेमाको छायांकन गर्न आएकोमा धन्यवाद समेत दिइन् ।

नेपाली राजनीतिज्ञको रोजाई र प्राथमिकतामा सिनेमा पर्दैन । त्यही अनुसारको सम्बोधन हुन्छ यो क्षेत्रलाई । तर विस्तारै केही राजनीतिज्ञले भने चासो देखाउन थालेका छन् । भलै यसका पछाडि निर्माता तथा निर्देशकको भनसुन वा आफन्तको हात हुन्छ । हार्नै नसक्ने व्यक्तिको आग्रहलाई नकार्न नसकेर सिनेमा हेर्न जाने गरेका छन् ।

केही समय अगाडि प्रेम आले, योगेश भट्टराई सिनेमाको टिजर र ट्रलेर लञ्च कार्यक्रममै पुगेका थिए । ‘ऐचो पैचो’को कार्यक्रममा उनीहरु हलमा पुगेका थिए । केही राजनीतिक मुद्दा उठान गरेका सिनेमा हेर्न भने प्रधानमन्त्रीदेखि शीर्ष दलका शीर्ष नेताहरू नै पुग्ने गरेका छन् । जस्तै सिनेमा ‘पञ्चायत’ हेर्न शीर्ष दलका अधिकांश नेता हलमा पुगेका थिए ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई त बेलाबेलामा यसैगरी कसैको आग्रहमा सिनेमा हेर्न जान्छन् र चोटिला प्रतिक्रिया नै दिन्छन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै केही समय अगाडि लगातार सिनेमा रिलिज हुँदा शुभकामना दिएका थिए । सिनेमा ‘फर्की फर्की’, ‘पुजार सार्की’, ‘गाउँ आएको बाटो’लगायत सिनेमालाई केही कलाकार र निर्देशकको नामै लिएर सिनेमा हेर्न आग्रह गरेका थिए । मिलेसम्म आफू पनि उक्त सिनेमा हेर्ने बताएका थिए ।

ओलीले फुर्सदको समय सदुपयोग गरेर मासको सेन्टिमेन्ट क्याच गर्न खोजेका थिए अथवा साँच्चै उनमा सिनेमालाई हेर्ने दृष्टिकोण सकारात्मक छ, त्यो भने समयक्रमले नै देखाउनेछ ।