क्राइम थ्रिलर ‘देवी’को दुई पोस्टर सार्वजनिक

क्राइम थ्रिलर ‘देवी’को दुई पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
392
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ ।

सिनेमाले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । सिनेमाकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई सिनेमाका निर्देशक हुन् ।

सिनेमाले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले दिएको छ। सिनेमा भदौ २१ गते रिलिज हुनेछ ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमाले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

यसै सिनेमाबाट निर्देशनमा डेब्यू गरिरहेका राईले आफ्नो सिनेमाले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो सिनेमा बनाउने प्रयास गरेको बताए ।

सिनेमामा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । सिनेमामा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।