सकियो भुवनको दुई वर्षे कार्यकाल, बिदा भए बोर्डबाट

सकियो भुवनको दुई वर्षे कार्यकाल, बिदा भए बोर्डबाट

अभिनेता  भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट बिदा भएका छन् । दुई वर्षे कार्यकाल सकिए पछि उनी बोर्डबाट बिदा भएका हुन् ।

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट बिदा भएका छन् । बुधबार दुई वर्षे कार्यकाल सकिएपछि बिहीबार उनी बोर्डबाट बिदा भएका हुन् ।

साउन ९ गते उनको कार्यकाल दुई वर्ष पूरा भएको हो । उनलाई आज बोर्डले एक कार्यक्रम आयोजना गर्दै बिदा गरेको हो । बिदाइ कार्यक्रममा बोर्डका कर्मचारीसँगै सिनेमासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

केसीले आफ्नो दुई बर्षे कार्यकालमा ‘काभ्रेको बनेपामा आधुनिक सिनेमा स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, स्टोरी बैंक मार्फत मौलिक सिनेमा निर्माणमा प्रोत्साहन गरेको, सिनेमाकर्मीहरुलाई सम्मान, विशेष सिनेमा पुरस्कारको घोषणा, सिनेमा सम्बन्धी बिषयमा अध्ययन अनुसन्धान एवं विद्वत्वृत्तिमा प्रोत्साहन गरेको, सिनेकर्मीहरुको दक्षता अभिबृद्धि कार्यक्रम आयोजना गरेको, सिनेमाकर्मी कल्याणकोष संचालन अघि बढाएको, सिनेमाकर्मीहरुको छायांकन अवधिको दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरेका छन् ।

साथै, आफ्नो कार्यकालमा बोर्डले ‘बाल सिनेमा निर्माण प्रशिक्षण कार्यक्रम, विशिष्ट श्रेणीका सिनेमाकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, नेपाली सिनेमाकर्मीहरुलाई अन्तराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि प्रोत्साहन, नेपाली सिनेमाको अन्तराष्ट्रिय प्रवर्द्धन र विकास, घुम्ती सिनेमा तथा सिनेमा साक्षात्कार कार्यक्रम, लघु सिनेमा प्रतियोगिता, सांकृतिक रुपान्तरण सम्मान तथा पुरस्कार, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला सिनेमाकर्मीलाई सम्मान, चलचित्र विकास बोर्डको नारा र धुन निर्माण, राष्ट्रिय सिनेमा दिवस तथा सिनेमा क्षेत्रको नामाकरण लगायतको काम गरेको उल्लेख गरेका छन् ।

यस्तै, विकास बोर्डले आफ्नो कार्यकालमा नीतिगत, कानूनी र संरचनात्मक उपलब्धि पनि हासिल गरेको अध्यक्ष केसीको भनाई थियो । अध्यक्ष केसीले विकास बोर्डबाट आफू बाहिरिए पनि नेपाली सिनेमा क्षेत्रको विकास र विस्तारमा सधैं लागि पर्ने बाचा गरे ।

उनले सरकारप्रति आक्रोश समेत व्यक्त गर्दै भने- ‘निर्माता-निर्देशकहरुले जग्गा जमिन बेचेर यो क्षेत्रलाई यो स्थानसम्म ल्याएका छन् । सरकारले यो क्षेत्रका लागि यो गर्यौँ भनेर भाषण गर्ने ठाउँ छैन । एउटा सिनेमा स्टुडियो समेत सरकारले बनाउन सकेको छैन । राष्ट्रिय सिनेमा उद्योगलाई प्राथमिकतामा राखेर हामीले काम गर्ने कोशिश गर्यौँ । तर, सरकारले सुन्छ मात्र कार्यान्वयन गर्दैन ।’

अध्यक्ष केसीले  अगाडि भने- ‘कति साथीहरूले म बाट उल्लेखनीय काम भएन भन्नुहुन्छ । म माथि अपेक्षा पनि धेरै थियो । तर, विकास बोर्डमा आएपछि थाहा भयो कि, चलचित्र विकास बोर्डमा थोरै मात्र अधिकार छन् । अझै पनि वि.सं २०२६ सालको ऐनमा सिनेमा क्षेत्र चलिरहेको छ । यो ऐनलाई परिवर्तन गरेर नयाँ ऐन पास गर्नुपर्छ भनेर म लागि परेँ । तर, जति गर्दा पनि मन्त्रालयमा नै ऐन रोकिन्छ । हामीले गर्ने त प्रयास नै हो । मैले, यहाँ आएर ऐन पास गर्ने कोशिश गरे । अहिले संचार मन्त्रालयबाट अर्थ मन्त्रालयसम्म ऐन पुगेको छ । यतिसम्म हामीले प्रयास गर्यौँ ।’

अध्यक्ष केसीले सरकारले चाहेको खण्डमा चाँडै नै ऐन पास हुने बताए । उनले, बोर्डले पाएको अधिकार भित्र रहेर सबै राम्रा काम आफूले गरेको बताए । भुवन केसी वि.सं २०७९ साल साउनको ९ गते विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

दुई वर्षे कार्यकालको उपलब्धी जाकारी गराएका उनले आफूलाई सहयोग गर्ने बोर्ड र मन्त्रालयका कर्मचारीसँगै सिनेमाकर्मीलाई धन्यवाद दिएका थिए ।