‘नेपहपको श्रीपेच २’को प्रशारण सुरु

‘नेपहपको श्रीपेच २’को प्रशारण सुरु

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु भएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । कार्यक्रमको प्रिमियरमा जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए ।

यो प्रतियोगिताका लागि ५ हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यस मध्यबाट ५ सय उत्कृष्ट छनौट गरी फिजिकल अडिसन लिइएको थियो । कार्यक्रम हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा ९ बजे प्रशारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ ।

‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगद, वल्र्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् । हालसम्म कार्यक्रमको अस्ट्रेलिया, अमेरिका र दुबई टुर पनि कन्फर्म भइसकेको छ ।

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् । कार्यकारी निर्माताको रूपमा रोशन कुमार श्रेष्ठ रहेका छन् । कार्यक्रममा निर्णायकको रूपमा मानस घले, गिरिश खतिवडाको र महेश तामाङ ‘दोङ’ रहेका छन् ।

यसअघि पहिलो सिजनमा जजको रूपमा हाल काठमाडौंका मेयर बालेन साह पनि रहेका थिए । साथै मेन्टरको रूपमा पहिलो सिजनको विजेता भाईबर साइमन, भ्योमा र ‘याबी द गोट’ रहेका छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गर्दैछन् । त्यस्तै कार्यक्रम सञ्चालकको रूपमा सुज्ता श्रेष्ठले नै निरन्तरता पाएकी छिन् । यो कार्यक्रमको डिजिटल पार्टनर ओएसआर रियालिटी रहेको छ ।