बक्सअफिसमा ‘घरज्वाइँ’ले दुई हप्तामा कमायो ४ करोड ६३ लाख ग्रस

बक्सअफिसमा ‘घरज्वाइँ’ले दुई हप्तामा कमायो ४ करोड ६३ लाख ग्रस

द सिनेमा टाइम्स
2.3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको सिनेमा ‘घरज्वाइँ’को निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै दुई हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । सिनेमाले दुई हप्तामा ४ करोड ६३ लाख ग्रस कलेक्सन सार्वजनिक गरेको हो ।

सिनेमाको रिलिजको दुई दिनमा १ करोड ५१ लख ग्रस कलेक्सन गरेको सिनेमाले पछिल्लो १२ दिनमा ३ करोड १२ लाख ग्रस कलेक्सन गरेको निर्माता जनक घर्ती मगरले बताए । योसँगै सिनेमाले नेपाल रिलिजबाट नै आफ्नो लगानी उठाएको दाबी निर्माता घर्ती मगरको छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।