‘घरज्वाइँ’ले ‘रोधी’ शब्द नहटाए तमु धिंले गण्डकीका सबै हल बन्द गराउने

‘घरज्वाइँ’ले ‘रोधी’ शब्द नहटाए तमु धिंले गण्डकीका सबै हल बन्द गराउने

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हाल प्रदर्शनरतः ‘घरज्वाइँ’ सिनेमाले आफूहरुको पटक-पटकको ध्यानाकर्षणलाई बेवास्ता भएको भन्दै गुरुङ संस्था तमु धिंले सिनेमामा प्रयोग गरिएको रोधिं/रोदि शब्द संशोधन नगरेसम्म गण्डकी प्रदेशका सम्पूर्ण हल बन्द भन्दै हलहरुलाई पत्र काटेको छ ।

संस्थाका अध्यक्ष हुम बहादुर गुरुङले हिजो आइतबार गण्डकी प्रदेशका हलहरुलाई सो पत्र काटेका हुन् । सो पत्रमा उनले आफूले पटकपटक ‘घरज्वाइँ’ सिनेमाका निर्मातालाई फोन तथा प्रेस विज्ञप्तिमार्फत सम्झाएकोमा सम्बोधन नगरेकाले सिनेमा हल बन्द गराउने निर्णयमा पुगेको सो पत्रमा उल्लेख छ । यस्तै पत्रमा चलचित्र जाँच पास समितिलाई समेत आफूहरुले पत्राचार गरेको तर सोमाथि न्यायिक निर्णय नगरेको सो पत्रमा भनिएको छ ।

पत्रमा तमु धिं नेपालले ‘रोधि/रोदि शव्द संशोधन गरी मगर समुदायकै भुगोलको शब्द राख्नुपर्ने माग गरेको छ । तमु धिंले आफूले पठाएको पत्रमा ‘घरज्वाइँ’ सिनेमामा राखिएको रोधिं दृश्य गुरुङ समुदायको रोधिं/रोदि विधि र विधानको विपरित भएको ठहर गरेको छ ।

संस्थाले आफ्नो पत्रलाई वेवास्ता गरिए सोबाट उत्पन्न हुने परिस्थितिले पुर्‍याउने क्षतिको जिम्मेवार आफूहरु नहुने चेतावनी समेत दिएको छ ।