सुटिङ र प्रचार तालिका मिलाउन आँचललाई सकस

सुटिङ र प्रचार तालिका मिलाउन आँचललाई सकस

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एक साथ तीन सिनेमाको सुटिङ तालिका जुध्ने सम्भावना बढेपछि अहिलेकी चर्चित  अभिनेत्री आँचल शर्मालाई सुटिङको सन्तुलन मिलाउने चुनौती थपिएको छ।

हालका टप थ्री सुपरस्टारहरु अनमोल केसी, प्रदिप खड्का तथा दयाहाङ राईसँग जोडि बाँधि उनलाई अनुबन्धित गरिएका तीन सिनेमाहरु- ‘जेरी अन टप’, ‘पिताम्बर’ तथा ‘दुःखी आत्मा’ लगभग एकै समयमा फ्लोरमा जाने भएपछि आँचललाई सुटिङ तालिकाको कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको हो।

प्राप्त खबरका अनुसार ‘जेरी अन टप’ र ‘पिताम्बर’ साउनको अन्तिम साताबाट फ्लोरमा जने बताइएको छ भने भदौको तेश्रो हप्ताबाट ‘दुःखी आत्मा’ फ्लोरमा जाने जानकारी सिनेमाका निर्देशक दिपेन्द्र लामाले दिइसकेका छन्।

छायाँकनसँगै यो अवधिमा उनले भदौ १४ गते रिलिज हुने मिलन चाम्स निर्देशित ‘वर एण्ड बधु’ सिनेमाको प्रचारका लागि समेत समय व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती पनि छ।

यतिवेला अनमोललाई लिएर ‘जेरी अन टप’ निर्देशक सुयोग गुरुङ र निर्माता सरोज न्यौपाने लोकेशनको लागि भारतको लद्दाख पुगेका छन्, भने निर्देशक कृषा चौलागाईको ‘पिताम्बर’को वर्कसप भैरहेको छ । ‘पिताम्बर’ कृषाको ड्रिम प्रोजेक्ट रहेको बताइएको छ ।

यो अवस्थामा आँचललाई विशेष चुनौती भने ‘जेरी अन टप’ र ‘पिताम्बर’को छायाँकनको समय व्यवस्थापनमा देखिएको छ। यदि खबर सार्वजनिक भएजस्तै गरी साउनको अन्तिम साताबाट दुबै सिनेमा फ्लोरमा एकसाथ गएमा दुबै सिनेमाका निर्माण पक्षले आँचललाई सहज हुनेगरी समय मिलाउनुपर्ने हुन्छ।

आँचललाई समय व्यवस्थापन गर्नुपर्ने चुनौतीको आभास छ। त्यसैले केही गार्हो भएपनि उचित व्यस्थापन गर्ने ‘वर एण्ड बधु’को गीत रिलिज कार्यक्रममा बताएकी थिइन।

‘सिनेमामा अभिनय गरेपछि पब्लिसिटी पनि हाम्रो दायित्व हो । हामीले गर्नैपर्छ । हाम्रो कामकै एउटा पार्ट हो,’ आँचल भनेकी थिइन्, ‘एकै समयमा छायांकन र रिलिज हुँदा पक्कै पनि केही कठिन हुन्छ । तर हामी सानो सिनेमा उद्योगभित्रका एकै परिवारका सदस्य हौँ । त्यसैले एकले अर्कोलाई कोअपरेट गरेर काम गर्नुपर्छ । गरिरहेका छौँ पनि ।’