अमरको ‘मोदीबेनी’ अनुभवःभावनात्मक रूपमा विक्षिप्त पार्ने एक दृश्य

अमरको ‘मोदीबेनी’ अनुभवःभावनात्मक रूपमा विक्षिप्त पार्ने एक दृश्य

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । श्रावण १८ गते नेपाली सिनेमा ‘मोदीबेनी’ रिलिज हुँदैछ । शंकर कोइरालाले निर्देशन गरेको यो सिनेमामा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूको साथमा डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठको अभिनय रहेको छ । उनले सिनेमा अगाडि केही नाटक, विज्ञापन तथा वेब सिरिजमा अभिनयको अनुभव लिएका थिए ।

पहिलो पटक ठुलो पर्दामा अभिनेताको रूपमा देखिने मौका पाउनु एक कलाकारका लागि ठुलो अवसर हो । जब श्रेष्ठलाई ‘मोदीबेनी’मा प्रमुख भूमिका प्रस्ताव गरियो, उनी एकाएक उत्साहित र सम्मानित महसुस गरे । ‘मैले यो सिनेमाको स्क्रिप्ट राम्रोसँग सुनेको थिएँ, त्यसैले यो अवसरको लागि म धेरै उत्साहित थिएँ । मेरो प्रारम्भिक प्रतिक्रिया उत्साह र अलिकति नर्भसनेसको मिश्रण थियो,’ अमरले भने ।

यो सिनेमाको सेटमा काम गर्ने अनुभव अमरको लागि विशेष थियो । पहिलो पटक प्रमुख भूमिकामा अभिनय गर्दा उनी पूर्व तयारी गरेका थिए, तर सेटमा वास्तविकता अलिक फरक थियो । ‘सिनेमाको टिम धेरै व्यावसायिक थियो, र कलाकार तथा प्राविधिकबिचको आपसी सहकार्यको भावना पनि धेरै मजबुत पाएँ,’ अमरले बताए । छायांकनको वातावरण सहयोगात्मक हुनु र टिमका सबै जना सिनेमालाई उत्कृष्ट बनाउने प्रतिबद्धतामा हुनु उनले अपेक्षा गरेभन्दा धेरै राम्रो रह्यो।

अमरको सिनेमामा प्रवेश गर्ने प्रक्रिया केही अनुसन्धान र मेथड एक्टिङमा आधारित थियो । उनले चरित्रको व्यक्तित्व बुझ्न समय खर्च गरे र चरित्रको वरपरको वातावरणमा आफूलाई डुबाए । ‘मुख्य रूपमा स्क्रिप्टमा लेखिएको पात्र र म समान देखिन केही मेहनत लाग्यो,’ उनले भने ।

यसले उनको भूमिका बलियो बनायो । सिनेमामा निर्देशक र कलाकारसँगको सहकार्य अमरको लागि उत्कृष्ट अनुभव रह्यो । अमर भन्छन्, ‘नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो, जसले मेरो अभिनयलाई बुझ्न सजिलो बनायो।’

‘मोदीबेनी’ मा अमरको लागि सबैभन्दा चुनौतीपूर्ण दृश्य भावनात्मक रूपमा विक्षिप्त पार्ने एक दृश्य थियो । अमरको विचारमा  सो दृश्यले दर्शकलाई साँच्ची नै मन छुन सक्छ। ‘मैले अभिनय गरेको पात्रसँग सबैभन्दा चुनौतीपूर्ण एक दृश्य छ जुन दृश्यले दर्शकलाई भावनात्मक रूपमा निकै विक्षिप्त पार्न सक्छ।’

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो सिनेमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । सिनेमालाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा उत्सव दाहालको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।