संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरे मंसिर ७ गते रिलिज हुने ‘अग्नीदहन’को पोस्टर

संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरे मंसिर ७ गते रिलिज हुने ‘अग्नीदहन’को पोस्टर

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सामाजिक कथामा निर्माण गरिएको सिनेमा ‘अग्नीदहन’को पोस्टर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोस्टर सार्वजनिक गरेका हुन् ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित सिनेमा आगामी मंसिर ७ गते रिलिज हुनेछ । कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध सिनेमा निर्माण हुनु सराहनीय कार्य भएको बताए ।

‘बोक्सीको आरोपमा धेरै महिला मारिनुका साथै उनीहरुमाथि भएको कुटपिटले आत्महत्या गर्न बाध्य छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, मन्त्री गुरुङले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो सिनेमा सफल हुन्छ भन्नेमा आशावादी छु ।’

निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई सिनेमामा उठान गरिएको बताए । ‘सिनेमामा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट सिनेमामा उतारेका छौं । सिनेमामा दर्शकले सन्देश र मनोरञ्जन दुवै पाउनुहुनेछ’, उनले भने । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन सिनेमा निर्माण गरिएको निर्देशक लामिछानेको दाबी छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष सिनेमाका परिकल्पनाकार कोविदशरण उपाध्यायले सिनेमालाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार सिनेमा अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । सिनेमाका वितरक डीसीएनका अशोक शर्माले ‘अग्नीदहन’ व्यावसायिक सिनेमा नभएको बताए ।

सिनेमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।

सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । सिनेमामा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

यो सिनेमालाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । सिनेमालाई चलचित्र विकास बोर्डले ‘विशेष सिनेमा अवार्ड’ समेत दिएको थियो ।