‘१२ गाउँ’को पोस्टरमा विराज र समीर, टिजर चाँडै रिलिज हुने

‘१२ गाउँ’को पोस्टरमा विराज र समीर, टिजर चाँडै रिलिज हुने

द सिनेमा टाइम्स
553
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक पोस्टरमा विराज र डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा देखिएका छन् ।

सिनेमाको पोस्टरमा टिजर चाँडै सार्वजनिक गरिने उल्लेख गरिएको छ । सिनेमाको पोस्टरले दर्शकमाझ उत्सुकता बढाउने देखिन्छ । यो विराजका छोरा समीरको डेव्यु सिनेमा भएकाले पनि दर्शकको प्रतिक्षामा छ । उनले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी ‘१२ गाउँ’ मार्फत् गरेका छन् ।

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।