लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर रिलिज

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर रिलिज

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर रिलिज भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तुमा निर्माण भएको सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष यो सिनेमाले यसअघि विभिन्न अवार्डमा समेत उत्कष्ट सिनेमाको अवार्ड जितिसकेको छ । सिनेमाको ट्रेलरले छोरी हुनुको महत्व दर्शाउन खोजेको छ ।

सिनेमाको शीर्ष पात्र सतीदेवीको भूमिका अभिनेत्री मलिका महतले निवार्ह गरेकी छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई सिनेमामा उठाएको बताए । समाजको परिवर्तनमा यो सिनेमाले ठुलो भुमिका खेल्ने विश्वास उनको छ ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री महतले छायांकन अनुभव सुनाएकी थिइन् । ‘समग्रमा यो बाबुछोरीबीचको सम्बन्धको कथा हो,’ उनले भनिन्, ‘छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा सिनेमाले उठाएको छ ।’

सिनेमामा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।