सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्स समूहको नयाँ हल सञ्चालनमा

सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्स समूहको नयाँ हल सञ्चालनमा

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – देशभर धमाधम मल्टीप्लेक्स हल खुल्ने क्रम बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा अर्को मल्टीप्लेक्स थपिएको हो । दरवारमार्गमा सञ्चालनमा रहेको क्यूएफएक्स सिनेमाज् अर्थात् क्यूज हलका सञ्चालक सुमित मैनालीले सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्स समूहलाई नै व्यवस्थापनाको जिम्मा दिँदै नयाँ हल सञ्चालनमा ल्याएका हुन् ।

बिहिबार कलाकारहरु दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, प्रदीप खड्का, प्रकाश सपूत, नीति शाह लगायतले संयुक्त रुपमा रिवन काटेर हलको उद्घाटन गरेका थिए ।

तीनवटा पर्दा रहेको यो हल गत महिनादेखि सफ्ट-ओपनिङ भएपनि शुक्रबारदेखि औपचारिक रुपमा हल संचालनमा आउने संचालक मैनालीले जानकारी दिए । मलको नवौं तल्लामा अवस्थित हलमा ४९७ दर्शकले एकसाथ सिनेमा हेर्न सक्ने छन् ।

सोफा सेटसहित हरेक पर्दामा सुतेर सिनेमा हेर्न मिल्ने सिटहरु जडान गरिएका छन् । हलमा एसियाकै सर्वोत्कृष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको सञ्चालक मैनालीले बताए । हलको ११औँ र १२औँ तल्लामा मैनालीले नै ‘कसमी बार एण्ड लाउन्ज’ पनि सञ्चालनमा ल्याएका छन् । हलको लागत १८ करोड जनाइएको छ ।

सिटी स्क्वायर मलको हलको पनि व्यवस्थापनको जिम्मेवारी पाएसँगै क्यूएफएक्स चेनको देशभर हलको संख्या १७ वटा (काठमाडौं उपत्यकामा ७ तथा उपत्यकाबाहिर १०) पुगेको छ । गोंगबु, सामाखुसी, टोखा लगायत क्षेत्रका दर्शकलाई सिनेमा हेर्न उक्त मलमा पायक पर्ने आशा पनि क्यूएफएक्सले लिएको छ ।