मिलियन क्रस भयो ‘खुस्मा’को ‘खुशीका फूल बटुलेर’

मिलियन क्रस भयो ‘खुस्मा’को ‘खुशीका फूल बटुलेर’

द सिनेमा टाइम्स
1.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज ३ गते रिलिज हुने धिरज मगर तथा उपसना सिंह ठकुरीको प्रतिक्षित सिनेमा ‘खुस्मा’को पहिलो गीत ‘खुशीका फूल बटुलेर’ गीतले भिडियो सेयरिङ प्लेटफर्म यूट्यूभमा नेपाली सांगीतिक सफलताको कोशेढुङ्गा मानिएको एक मिलियन अर्थात १० लाख भ्यूज पार गरेको छ ।

यसैगरी टिकटक प्रयोगकर्तामाझ पनि यो गीत लोकप्रिय बनेको छ । टिकटकमा लाख बढि प्रयोगकर्ताले यो गीतमा भिडियो बनाएका छन् । यस्तै २४ हजारको संख्यामा यूट्यूबा लाइक बटुलेको गीतमा प्रयोगकर्ताहरुले अत्यन्त सकारात्मक टिप्पणी गर्दै आफुहरुलाई गीत मनपरेको प्रतिक्रिया दिएका छन् ।

यसका कारण दर्शकहरुको नजरमा यो सिनेमा परेको सहजै बुझ्न सकिन्छ । प्रेमिलभावको सुमधुर गीतमाथि बनेको भिडियोमा देखाइएको अभिनेता धिरज र उपसनाबीचको प्रेम रसायनलाई दर्शकले मन पराएका छन् ।

गीतमा बबिता मगर नाम गरेकी एक प्रयोगकर्ताले ‘के सार्हो राम्रो गीत हौ, जत्ति हेरेपनि मन भरिएन, धिरज मगर उपसना ठकुरी वाउ’ लेखेकी छन् भने अर्का प्रयोगकर्ता शिशिर रानाले ‘यो भिडियो ५ चोटि भन्दा बढी हेर्ने चाहिँ यता हाजिर हुनु है हजुर’ लेखेका छन् ।

यस्तै आफूहरु धिरज र उपासनाको ठूलो फ्यान भएको प्रतिक्रिया धेरै प्रयोगकर्ताले दिएका छन् । एसडी योगीको संगीतमा तयार भएको गीतमा योगीले स्वरमा विज्ञानी पराजुलीसँग जुगलबन्दी गरेका छन् ।

सिनेमाको चर्चाको लागि सो सिनेमा गीतको चर्चा र लोकप्रियता प्रत्यक्ष सरोकार राख्ने गर्छ । सिनेमा हाइप बनाउन ठूलो भूमिका रहने गरेको छ । विगतमा पनि लोकप्रिय गीतका कारण सिनेमाप्रति दर्शक आकृष्ट गर्न सकेको प्रसस्तै उदाहरण छन् ।

यस्तोमा एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको तथा अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको सिनेमाका लागि उत्साहजनक कुरा हो । डेब्यू निर्देशक लागि यो एउटा सुखद समाचार मान्न सकिन्छ ।

केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन सँगै सोका लागि नौ वटा विभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त थापामगरको यो सिनेमा नेपाली सिनेनगरीले व्यापारिक र समीक्षकीयरुपमा आशा राखेको सिनेमा हो ।

स्टारकास्टका हिसाबले समेत केही फरक सिनेमा दर्शकमाझ आउन लागेको बुझ्न सकिन्छ । सिनेमाको दृश्यभाषामा कुनै सम्झौता नहोस् भन्नाका हेतु सिनेमालाई दुई फरक सुटिङ तालिकामा सिनेमाको छायाँकन गरिएको छ ।

मनाङ र पूर्वी रुकुममा छायाँकन गरिएको यो सिनेमाले प्रेमकथा प्रस्तुत गर्ने निर्माण पक्षले बताउँदै आएको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । यसले पनि यो सिनेमा रोचक बनेको अनुमान गर्नसकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।