गौरव, शिल्पा र नाजिर स्टारर ‘देवी’को टिजर सार्वजनिक

गौरव, शिल्पा र नाजिर स्टारर ‘देवी’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
287
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

सिनेमाको सार्वजनिक टिजरमा समावेश एक संवादले सिनेमा केही वर्ष अघि सुदुरपश्चिममा घटेको नाबालिक १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ । सिनेमाका प्राय सवै मुख्य कलाकारलाई स्थान दिइएको सार्वजनिक यो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।