भदौ ७ गते रिलिज हुने ‘नमेटिने घाउ’को प्रधानमन्त्री ओलीले गरे डबिङ

भदौ ७ गते रिलिज हुने ‘नमेटिने घाउ’को प्रधानमन्त्री ओलीले गरे डबिङ

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘नमेटिने घाउ’को डबिङ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले डबिङ गरेका छन् । ओलीले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सिनेमामा पनि प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् । सत्य घटनामा आधारित सिनेमा ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपाल र सासंद देवेन्द्र पौडल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । नेपालले केही दिन अगाडि उनीहरुले आफ्नो दृश्यको डबिङ गरेका थिए ।

सिनेमामा प्रधानमन्त्री ओलीको डबिङसँगै प्रदर्शन मिति समेत घोषणा भएको छ । सिनेमा ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट देशभरिका सिनेमा घरमा प्रदर्शनमा आउने निर्देशक तथा अभिनेता ढुंगानाले बताए । यो सिनेमा एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ ।

एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर सिनेमा निर्माण गरिएको छ । सिनेमामा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाई, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, सुरवीर पण्डित, सुनिल कटुवालको अभिनय रहेको छ ।

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सयौं नेपाल प्रहरीको समेत अभिनय छ । सिनेमामा शिवम् अधिकारीको कथा लेखन छ । सिनेमामा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन रहेको छ ।