दर्शक भन्दैछन् – ‘देवी’को प्रतिक्षा छ, विषयले नै सिनेमाको स्तर निर्धारण गरिसक्यो

दर्शक भन्दैछन् – ‘देवी’को प्रतिक्षा छ, विषयले नै सिनेमाको स्तर निर्धारण गरिसक्यो

टिजर सार्वजनिक भएसँगै यसको दर्शकले तारिफ गरिरहेका छन् । टिजर हेरेर कविर बोहोरा कमेन्ट गर्छन्, 'भगवान यो सिनेमालाई सुपरहिट बनाइदेऊ ।'

द सिनेमा टाइम्स
469
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा मनोरञ्जन मात्रै होइन, यो गम्भीर विषयवस्तु उठान गर्ने माध्यम पनि हो । यसलाई सिनेमा ‘देवी’को विषयवस्तुले पनि पुष्टि गर्छ । सवै सिनेमा मनोरञ्जनका लागि मात्रै निर्माण हुँदैनन्, केही समाजमा रहेका विकृति र विसंगीत चिर्न पनि बनाइन्छ । यही उद्देश्यले बनेको सिनेमा हो, ‘देवी’ ।

यही सिनेमा ‘देवी’को टिजर शनिबार सार्वजनिक भयो । सिनेमाले बलात्कारविरुद्ध आवाज उठाउने टिजरले प्रष्ट संकेत गरेको छ । केही वर्ष अगाडि कञ्चनपुरमा १३ वर्षिया नाबालिग निर्मला पन्तको हत्या भएको थियो । बलात्कारपछि अपराधीले उनको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । सोही विषयलाई लिएर यो सिनेमा बनेको टिजरमा रहेको संवाद र दृश्यले संकेत गरेको छ ।

टिजर सार्वजनिक भएसँगै यसको दर्शकले तारिफ गरिरहेका छन् । टिजर हेरेर कविर बोहोरा कमेन्ट गर्छन्, ‘भगवान यो सिनेमालाई सुपरहिट बनाइदेऊ ।’ उनको यो कमेन्टले समाजमा सभ्य र सुसंस्कृत बन्न बाँकी नै रहेको र यसका लागि चेतनाको आवश्यक रहेको र त्यसका लागि सिनेमा सहयोगी सिद्ध हुने अपेक्षा गरेको देखिन्छ । नकारात्मक सोच र बाटोमा रहेका मान्छेलाई सकारात्मक सोच्नका लागि पनि यस्ता सिनेमा बन्नुपर्ने र हेरिनुपर्ने उनको कमेन्टले संकेत गरेको छ ।

निरज पोखरेल नाम गरेका व्यक्ति टिजरमा कमेन्ट गर्छन्, ‘यो नै सत्य हो । जनचेतनाका लागि सिनेमा बनाउन जरुरी छ । यो वास्तविक नेपाली सिनेमा हो । सबै कुरा परफेक्ट छ । यो सिनेमाको स्तर हो ।’ उनले यो कमेन्टमार्फत सिनेमा जनचेतनाको माध्यम पनि भएको प्रष्ट पारेका छन् । कतिपय अवस्था र सन्दर्भमा सिनेमाको स्तर उसको विषय छनोटले पनि निर्धारण गर्ने र त्यो सिनेमा ‘देवी’मा देखिएको उनले बताएका छन् ।

सजिता महर्जनलाई यो सिनेमाको टिजर पावरफुल लागेको छ । कठोर तर सत्य वास्तविकता टिजरले देखाएको उनी बताउँछिन् । उनी लेख्छिन्, ‘यो टिजर शक्तिशाली र आँखा खोल्ने छ । महिला बेचबिखन र बलात्कारको कठोर वास्तविकताको बारेमा सचेतना जगाउन यो महत्त्वपूर्ण छ । यो महत्वपूर्ण कथालाई ठूलो पर्दामा हेर्न प्रतीक्षा छ ।’

निर्देशक सञ्जोग राईले पनि आफूले व्यवसायका लागिभन्दा पनि गम्भीर विषय सिनेमामार्फत भन्नु पर्छ भन्ने लागेर सिनेमा बनाएको बताएका छन् । समाजमा जरो गाडेर बसेको निर्दयी र क्रुर सोच हटाउन ‘देवी’ बनाएको प्रष्ट पारेका छन् ।

निर्देशक राईले सिनेमाको यो कथा र पटकथामा अजय गौतमसँग मिलेर लेखेका छन् । सिनेमा ‘देवी’भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।