‘नमेटिने घाउ’को ट्रेलर : एसिड आक्रमणका पीडितको पीडा र संघर्ष

‘नमेटिने घाउ’को ट्रेलर : एसिड आक्रमणका पीडितको पीडा र संघर्ष

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशकिय सिनेमा ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । यो सिनेमाको सार्वजनिक ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्दै बोलेका संवाद समावेश छन् ।

सिनेमाले एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा उठाएको छ । सिनेमामा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, एलिसा गुरुङ आदिको अभिनय रहेको छ ।

सिनेमामा शिवम् अधिकारीको लेखन छ । उनले पटकथा लेखनमा मात्र साढे २ वर्ष लगाएका थिए । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘नमेटिने घाउ’मा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत तथा किरण ढकालको द्वन्द्व निर्देशन छ ।

सिनेमाले नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज सशक्त रुपमा उठाएको छ । सार्वजनिक ट्रेलर हेर्दा सिनेमाको दृश्यभाषा बलियो हुनसक्ने देखिन्छ । अभिनेता ढुंगानाको नै लगानी रहेको सिनेमा भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।