दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ले चार हप्तामा कति कमायो ?

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ले चार हप्तामा कति कमायो ?

द सिनेमा टाइम्स
938
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट ५ औं हप्तामा प्रवेश गरेको सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले चार हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । सिनेमाको निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाले ४ हप्तामा ५ करोड २५ लाख ग्रस कलेक्सन गरेको हो ।

शुक्रबार सिनेमाका बितरक रोहित कट्टले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको चार हप्ते कलेक्सन सार्वजनिक गरेका हुन् । अहिले पनि सिनेमा नेपालमा राम्रो शोसहित प्रदर्शन भैरहेको छ । यस्तै, विदेशमा पनि सिनेमा धेरै ठाउँमा प्रदर्शन भैरहेको निर्माता जनक घर्ती मगरले बताए । यही आइतबार सिनेमा जापानमा पनि रिलिज हुँदैछ । जसका लागि आज सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगर जापान प्रस्थान गरिसकेकी छन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।