‘देवी’को टिजर र पोस्टरले गरेको संकेत र गर्न सकिने अपेक्षा

‘देवी’को टिजर र पोस्टरले गरेको संकेत र गर्न सकिने अपेक्षा

दिनेश सिटौला
434
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जब नेपालमा पूरै देशलाई नै तरंगीत बनाउने घटना घट्छन् । ती घटनालाई लिएर सिनेमा कमै बन्छन् । देशै हल्लाउने घटनामा केहीले केही सिनेमा बनाएका पनि छन् । यी सिनेमा नाम चलेका ठूला ब्यानरले बनाएनन् । चल्तीका कलाकार पनि हुँदैन थिए । पर्याप्त मेहनत नगरी र गम्भीर रूपमा नलिइ बनाइएका त्यस्ता सिनेमा कहिले हलमा आउँथे र जान्थे भन्ने पनि दर्शकले चालै पाउँदैन थिए । त्यसैले महत्वका विषयमा सिनेमा बने त्यसले प्रभाव छोड्न सकेनन् । यो नै सत्य हो ।

तर, यो विगतलाई सिनेमा ‘देवी’ चिर्ने संकेत गरेको छ । धमिलो विगतलाई ‘देवी’ले चिर्दै नयाँ सुरुआत गर्ने सम्भावना छ । यो संकेत ‘देवी’सँग जोडिएर आएका केही कुराले गरेका छन् । यो सिनेमाले निर्मला पन्तको कथा भन्दैछ ?

देवीका पोस्टर, टिजर र प्रदर्शनमा जोडिएको ब्यानर र निर्माण टिमले गरेको मेहनतले सम्भावनालाई बलियो बनाएका छन् । बाँसुरी फिल्मस् ‘देवी’को प्रदर्शनमा जोडिन आइपुगेको छ । जुन आफैँमा सफल र स्थापित ब्यानर हो । जसले सुपरहिट सिनेमा दिइसकेको छ । त्यसैले यो ब्यानरले विश्वास गर्नुले पनि ‘देवी’ सशक्त सिनेमा बनेको छ भन्ने संकेत हो ।

सिनेमाका पोस्टरमा झकिझकाउ र बनावटी छैनन् । सिनेमाको थिम बोलेका छन् । क्यारेक्टरले कस्तो भूमिकामा निभाउँदैछन् । कहाँको कथा भनेको हो, त्यो घटनास्थल पोस्टरमा देखाइएको छ । समग्रमा पोस्टरले मेकर इमान्दार भएर कथा भनेको संकेत गरेका छन् ।

टिजरले यसलाई पुष्टि गरेको छ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको कथामा सिनेमा बनेको पुष्टि गरेको छ । टिजरमा बल्ताकार, हत्या, विक्षिप्त बनेको परिवार, घटनाको विरोधमा उत्रिएको भिड, न्यायका लागि परिवारले गरेको संघर्ष, प्रहरी अनुसन्धान, अनुसन्धानका कोण, दबाब, उच्च अधिकारीको एटिच्युड, त्यसको असर, अनुसन्धानमा प्राप्त क्लू र त्यसपछिको दबाब तथा प्रभावलाई सिनेमाले भन्ने संकेत गरेको छ ।

टिजरले ठूलो क्यानभासमा सिनेमा बनेको संकेत गरेको छ । कलर कथासँग म्याच भएको देखिन्छ । यसले मेकर सिनेमाको कथाप्रति जति सम्बेदनशील छन्, त्यति नै कलर र साउन्डमा खेल्ने देखिएको छ । यसले सिनेमा संवेदनशील विषयमा राम्रो बनेको अपेक्षा गर्न सकिन्छ ।

निर्देशक आफैँले व्यवसायिक प्रयोजनको लोभले भन्दा पनि कथा गम्भीर कथा भन्ने प्रयास गरेको बताएका छन् । यसले मेकरले इमान्दारिताका साथ कथा भनेको बुझ्न सकिन्छ ।

मेकर बजारको पछाडि नदौडी कथा भन्नबित्तिकै सिनेमा एकस्तर माथिको बन्ने सम्भावना उच्च हुन्छ । जुन ‘देवी’मा अपेक्षा गर्न सकिन्छ । र, अहिलेसम्मका कन्टेनले यो संकेत पनि दिएका छन् ।

निर्देशक सञ्जोग राईले आफूले व्यवसायका लागिभन्दा पनि गम्भीर विषय सिनेमामार्फत भन्नु पर्छ भन्ने लागेर सिनेमा बनाएको बताएका छन् । समाजमा जरो गाडेर बसेको निर्दयी र क्रुर सोच हटाउन ‘देवी’ बनाएको प्रष्ट पारेका छन् ।

निर्देशक राईले सिनेमाको यो कथा र पटकथामा अजय गौतमसँग मिलेर लेखेका छन् । सिनेमा ‘देवी’भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।