‘ह्रस्व दीर्घ’लाई हाइप दिँदै ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’, बलिउडसँग तुलना गर्दै दर्शक

‘ह्रस्व दीर्घ’लाई हाइप दिँदै ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’, बलिउडसँग तुलना गर्दै दर्शक

हामीले यो समाचार तयार पार्दासम्म सिनेमाको यो गीतले १० लाख ३० हजार बढि भ्युजका साथै २६ हजार लाईक र १ हजार ३ सय बढि कमेन्ट पाएको छ । 

दिनेश सिटौला
1.3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमामा राम्रा गीत नआएको कति भयो ? यो मेकरभन्दा पनि दर्शकले मूल्यांकन गर्ने कुरा हो । किनकी मेकरको मूल्यांकनले भन्दा पनि दर्शकको मूल्यांकनले गीत लोकप्रिय हुने हो ।

दर्शकले ‘ह्रस्व दीर्घ’को गीतले सिनेमाका गीतमा देखिएको लोकप्रियताको खडेरी मेट्ने संकेत गरिरहेको छ । शुक्रबार साँझ रिलिज भएको ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’लाई युट्युबमा दर्शकले सकारात्मक प्रतिकृया दिइरहेका छन् । युट्युबमा लोकेन्द्र उपाध्याय गीत हेरेर कमेन्ट गर्छन्, ‘नेपाली सिनेमामा धेरै समयपछि एक उत्कृष्ट, लोभलाग्दो गीत बनेको महसुस भयो ।’

भव्य सेटअपमा खिचिएको भिडियोलाई प्ले गर्ने सरल र सरस शब्द गीतमा छ । बोलिचालीको भाषामा प्रयोग हुने शब्द छन् । एकपटक सुनेपछि सहजै सम्झिन सकिने शब्द भएकाले यो गीतलाई दर्शकले मन पराइरहेका छन् ।

नम्रता सापकोटाको दिमागमा गीतको भिडियो बसेको छ । उनी मुक्तकण्ठले भिडियोको प्रशंसा गर्छिन् । गीतको भिडियो हेरेपछि युट्युबमा कमेन्ट गर्छिन्, ‘वाउ ! विगतका दिनमा नेपाली सिनेमाको गीतको भिडियो हेरेको भन्दा फरक छ । बलिउड भाइब्स आयो मलाई । एक्सिलेन्ट वर्क ।’

नम्रतालाई यसको भिडियो मेकिङले लोभ्याएको छ । भब्य सेटपमा खिचिएको गीतमा प्रोडुसरले भिडियोलाई उच्च क्वालिटी दिन लोभ गरेका छैनन् । यसले प्रोडक्सन भ्यालु देखिएको छ । जसले गीतको भिडियोलाई उकास्ने काम गरेको छ । यसैले नम्रताको मन जितेको छ । त्यसैले उनी यसलाई बलिउडसँग तुलना गर्छिन् ।

गीत सिनेमा पब्लिसिटीको राम्रो माध्यम मध्यको एक हो । राम्रो गीत बन्यो भने त्यसले सिनेमाको हाइप स्वाट्टै माथि उठाइदिन्छ । यस्ता उदाहरण थुप्रै छन् । केही अघिको सिनेमा ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ र पछिल्लो समयको ‘बोक्सीको घर’को ‘बुझिन मैले’लाई राम्रो उदाहरणको रुपमा लिन सकिन्छ । यसलाई कसैले चाहेर पनि आँखा चिम्लिन सक्दैन ।

यो सम्भावना ‘ह्रस्व दीर्घ’को गीतले पनि देखाएको छ । अंकित थापा गीतमा कमेन्ट गर्दै लेख्छन्, ‘यो सिनेमा हेर्न म जस्तै अरु साथीहरू नि उत्सुक हुनुहुन्छ ।’

गीत रिलिज भएको धेरै भएको छैन । तर दर्शकको मन जितिरहेको छ । दर्शकले तारिफ गरिरहेका छन् । अञ्जना खड्काको कमेन्छ यस्तो छ, ‘रिलिज भएदेखि ११ पटक हेरेँ । तर अझै हेर्दैछु ।’ यो कमेन्टले गीतप्रति दर्शकले दर्शाएको माया प्रष्ट हुन्छ ।

गीतमा आएका अधिकांश कमेन्ट तारिफमा छन् । सिनेमाको प्रतिक्षा छ भन्ने छ । सिनेमाको यो गीतमा दुर्गेश थापाको संगीत, शब्द रचना र एरेञ्ज छ । गायनमा दुर्गेशसँगै सदीक्षा कट्टेलको स्वर छ । अधिकांश कमेन्ट दुर्गेशको तारिफमा छन् । दुर्गेशको कलाको खुलेर तारिफ गरिएका कमेन्ट छन् । जसमध्ये एउटा छोटो कमेन्ट उल्लेख गरौँ, हेम नाम गरेका व्यक्ति दुर्गेशको तारिफ गर्दै लेख्छन्, ‘खुसीको कुरा यो गीतको सर्जक दुर्गेश थापा । बाह ! मन जितेउ दाजु आज आएर ।’

धेरैले दुर्गेशको विगत जस्तो सुकै भए पनि यो गीतमा मन जितेको, राम्रो काम गरेको भन्दै प्रशंसाका शब्द प्रशस्तै खर्चिइएका छन् । यसले दुर्गेशको डेब्यु पार्श्व गायनमै उनी सफल भएको मान्न सकिन्छ । दुर्गेशको यो पहिलो सिनेमाको गीत हो । यसअघि ‘छ माया छपक्कै’को गीत तयार पारेका थिए । तर त्यो पब्लिसिटीका लागि तयार पारिएको प्यारोडी गीत थियो ।

गीतको भिडियोका नीता ढुंगाना र हरिहर अधिकारी छन् । नीताको नृत्यको खुलेर तारिफ भइरहेको छ । हरिहरलाई शुभकामना दिँदै सिनेमाको प्रतिक्षा रहेको बताइरहेका छन्, दर्शकले । गीतको भिडियोमा नीता र हरिहर केन्द्रमा छन्, जसलाई दर्शकले रुचाइरहेको कमेन्टबाट थाहा पाइन्छ ।

शब्दरचना, संगीत, गायन, कोरियोग्राफी र भिडियो मेकिङको कम्प्लिट प्याकेज भयो भने गीतले दर्शकको माया पाउँछ, रुचाइन्छ भनेर यो गीतलाई लिन सकिन्छ भन्ने दर्शकले देखाएको सद्भावमार्फत थाहा पाउन सकिन्छ । सिनेमाको यो गीतले रिलिज भएको एक दिनमा १० लाख ३० हजार बढि भ्युज पाउनुका साथै २६ हजार बढि लाईक र १ हजार ३ सय बढि कमेन्ट पाएको छ ।

संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ शुक्रबार सार्वजनिक भएको हो । गीतमा सुष्मा सुनामको कोरियोग्राफी छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।