विराजको ‘१२ गाउँ’ले लियो रिलिज डेट, असोज २४ गते रिलिज

विराजको ‘१२ गाउँ’ले लियो रिलिज डेट, असोज २४ गते रिलिज

द सिनेमा टाइम्स
602
Shares

द सिनेमा टाइम्स, काठमाडौं । समीर भट्टको डेब्युका कारण चर्चामा रहेको सिनेमा ‘१२ गाउँ’ले प्रदर्शन मिति घोषणा गरेको छ । आज एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले असोज २४ गते सिनेमा रिलिज गर्ने जानकारी दिएको छ ।

चाँडै टिजर सार्वजनिक गर्ने भन्दै रिलिज डेटसहित आएको पोस्टरमा समीर फिचर्ड छन् । सिक्स प्याक बडीसहित पेस्तोलमा देखिएको समीरको बडी लुक्सले सिनेमा फुल एक्सनमा आउने संकेत गरेको छ । कालो पाइन्ट लगाएका समीरको शरीरको माथिल्लो भाग आकर्षक बडी देखाउन लुगा लगाइएको छैन ।

उनले चलाएको पेस्तोलबाट गोली निस्किरहेको छ । कसैलाई निशाना लगाइरहेका उनको अनुहार भने सामान्य भावमा छ । गोली चलाउँदा पनि सामान्य मानिरहेको भावले सिनेमा फुलप्याक्ड एक्सन रहेको अनुमान लगाउन सकिन्छ ।

विराज भट्टले निर्देशन गरिरहेको चलचित्रको यो पोस्टरले सिनेमालाई थप प्रतिक्षित बनाएको छ । यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।

‘१२ गाउँ’ले प्रदर्शन मिति घोषणा गरेसँगै असोज २४ गते एकै दिन तीनवटा नेपाली सिनेमा रिलिज हुने भएका छन् । ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ र एकै दिन रिलिज हुने भएका हुन् ।