साउन ३२ गते शुक्रबारबाट पुनः प्रदर्शनमा ‘बुलाकी’

साउन ३२ गते शुक्रबारबाट पुनः प्रदर्शनमा ‘बुलाकी’

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गतवर्ष अर्थात् २०८० को बैशाख १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’ आज साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आएको छ । त्यो बेला सिनेमा घरले न्युन शो दिएको भन्दै प्रदर्शनको दोस्रो दिनमा नै उतारिएको सिनेमाले आजबाट आफ्नो दोस्रो इनिङ्गको सुरुवात गरेको हो ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको ‘बुलाकी’ले कर्णालीको संस्कृति र जीवन शैलीलाई उतारेको छ । जारी प्रथा (महिलाले अर्को बिहे गरेमा वा श्रीमानसँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम), बेरोजगारीको समस्या, सन्तान नहुँदाको पीडा, कर्णालीको संघर्षपूर्ण जीवनलाई मियो बनाएर कथावाचन गरेको छ ।

गत वर्ष सिनेमाको प्रदर्शन २ दिनको मात्र भएपनि दर्शकबाट प्रतिक्रिया सुखद् मिलेको थियो । सिनेमामा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादर राई, झलनाथ खत्री, सुशील पोखरेल, कुलदीप अधिकारी, लक्ष्मण देवकोटा लगायतको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा टोपेन्द्र विष्ट निर्माता तथा शिवराज पौडेल कार्यकारी निर्माता रहेका छन् । सिनेमामा शिव ढकालको डिओपी, राजबहादुर सानेको लेखन र चलचित्र चौतारीको पोष्ट प्रोडक्सन रहेको छ ।