असोज ११ मा स्मिता र आरके अभिनित ‘आँखा’ रिलिज घोषणा

असोज ११ मा स्मिता र आरके अभिनित ‘आँखा’ रिलिज घोषणा

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘आँखा’ असोज ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । यसअघि असार १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भएपनि पछि स्थगित गरिएको थियो ।

जौन योञ्जनको निर्देशनमा निर्माण भएको सिनेमाको नयाँ प्रदर्शन मिति घोषणासँगै एक पोस्टर पनि सार्वजनिक गरिएको छ । जसमा मुख्य अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता फिचर्ड छन् । सिनेमाको सार्वजनिक पोस्टरको पृष्ठभूमिमा टिनले छाएको सुकुम्बासी बस्ती देख्न सकिन्छ भने सूर्यमखी फूलहरुको बीचमा स्मिता र आरके गम्भीर भावमा देखिएका छन् ।

उनीहरुले सर–समानसहितका झोला लिएर सुकुम्बासी बस्ती छाडेको संकेत पोस्टरले दिएको छ । निर्देशक योन्जनले पोस्टरमार्फत सिनेमाको कथावस्तु खुलाउन खोजिएको जानकारी दिए । उनले यसअघि सिनेमा ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए । निर्देशक योन्जनले आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरु समयको कति लामो गहिराईसम्म जान सक्छन् भन्ने दृष्टिकोणको कथामा सिनेमा बनेको बताए ।

सिनेमामा स्मिता र आरकेका अलवा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, प्रविण खतिवडा, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ । बाल कलाकारमा प्रसन राई छन् । निर्देशक योन्जनकै कथा र पटकथा रहेको सिनेमाको निर्माता पनि योन्जन नै हुन् । नारायणप्रसाद बराल कार्यकारी निर्मातामा छन् ।

राम बस्नेत लाइन प्रोड्यूसर र रेनुका कार्की ढोली सह-निर्माता रहेको सिनेमामा कृष्ण भण्डारी र जौन योन्जनको सम्पादन, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयन जे वाइवाको संगीत छ ।