आँचल र विवेकले गरे बनेपामा ‘कन्या पूजा’

आँचल र विवेकले गरे बनेपामा ‘कन्या पूजा’

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् भदौ १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘वर एन्ड वधु’को प्रचारमा अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्य जोडतोडका साथ लागि परेका छन् । यही हप्ता पूर्वी नेपालका विभिन्न जिल्ला पुगेर सिनेमाको प्रचार गरेका उनीहरु अहिले विभिन्न मिडियामा पनि अर्न्तवार्ता दिन पुगिरहेका छन् ।

यसैबीच, कृष्ण जन्माष्टमीको अवसरमा सोमबार बनेपामा आयोजित कन्या पूजामा पनि उनीहरु सहभागी भएका हुन् । आँचल र विवेकका अलवा सिनेमाका कलाकारहरु किरण केसी, रविन्द्र खड्का, कुसुम शर्मा र विजु पार्कीले संयुक्त रुपमा कन्या पूजा गरेका थिए । त्यहाँ करिब १० हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

सिनेमाका कलाकारहरुले सो अवसरमा एक हजार बढी बालबालिकालाई कापी तथा खानेकुरा वितरण गरेका थिए भने निर्माण टिमले १ लाख ११ हजार नगद सहयोग समेत गरेको थियो । सनातन कन्या पूजा प्रबन्ध समितिमार्फत हरेक वर्ष आयोजना हुँदै आएको कन्या पूजामा पहिलो पटक सहभागी हुन पाउँदा खुशी र आनन्द महसुस भएको आँचलले बताइन् ।

बनेपामा कन्या पूजा गर्ने करिब १२२ वर्ष पूरानो इतिहास रही आएको छ । यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका विवेकले आफूले विगत ४ वर्षदेखि निरन्तर कन्या पूजामा आएर विभिन्न कुराहरु दान गर्ने गरेको बताए । उनी बनेपा निवासी समेत हुन् ।

सिनेमामा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । विवेक र कुसुमको यो डेब्यु सिनेमा हो । सिनेमाको छायांकन नेपालका रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको छ ।

एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । सिनेमाले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने छ । रोमानियामा र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् ।