भद्रकाली मन्दिरमा ‘एक्लो १’को शुभमुहूर्त, भोली बिहीबारबाट छायांकन सुरु गरिने

भद्रकाली मन्दिरमा ‘एक्लो १’को शुभमुहूर्त, भोली बिहीबारबाट छायांकन सुरु गरिने

द सिनेमा टाइम्स
364
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप शाहीको निर्देशनमा निर्माण हुने सिनेमा ‘एक्लो १’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिरमा शुभमुहूर्त पूजा गर्दै सिनेमाको भोली बिहीबारबाट छायांकन सुरु गरिने जानकारी दिइयो ।

सिनेमामा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, त्रिचु राई, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, कविता नेपाली र एवनराज उप्रेतीको अभिनय रहनेछ । सिनेमाको शुभमुहूर्त पूजामा कास्ट एण्ड क्रूको उपस्थिति रहेको थियो ।

यो सिनेमामा अभिनय गर्न बेलायती अभिनेता जेमी बेकन मंगलबार नेपाल आइपुगेका हुन् । शुभमुहूर्त कार्यक्रममा जेमीले मिडियासँग कुरा गर्दै नेपाली सिनेमामा सहकार्य गर्न पाउँदा आफू उत्साही रहेको बताए । छायांकनपूर्व शुभसाइत गर्ने चलन आफूलाई मनपरेको भन्दै यसलाई आश्चर्यजनक, आध्यात्मिक र धार्मिकरुपमा नेपाली संस्कार र संस्कृति निकै महत्वपूर्ण लागेको अनुभव सुनाए ।

सिनेमामा आफूले निर्वाह गर्न लागेको चरित्र महत्वपूर्ण र रोचक रहेकाले दर्शकलाई मन पर्ने बताए । यो सिनेमामा उनी बेलायतको निर्माण साझेदारको रुपमा समेत रहनेछन् । साइन्स फिक्सन जनरानमा निर्माण हुने सिनेमामा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्दैछन् ।

सिनेमाका मुख्य अभिनेता प्रदीप खड्काले उपल्लो मुस्ताङको गुफामा बसोबास गर्ने मानिसको भूमिका निवार्ह गर्दैछन् । सिनेमाले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री ज्याक (बेकन) आफ्ना साथीहरुसँग हिमालय क्षेत्रमा पुग्छन् । उनीहरुले आफ्नो वरपर क्षेत्रमा खोजी गर्दा पहाडको बीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन् ।

पहाडको बीचमा रहेको शहरमा उनीहरुले एक रहस्यमय व्यक्ति (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । निर्माताले प्रदीप खड्कालाई कल्कीको रुपम चिनाउँदै बुधबार नै क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेका छन् ।

‘एक्लो १’को छायांकन काठमाडौं र उपल्लो मुस्ताङमा ४५ दिनसम्म गरिने छ । सिनेमाको औपचारिक छायांकन बिहीबार च्यासलको स्टुडियोमा लगाइएको अन्तरिक्ष रकेटको सेटबाट सुरु हुनेछ । सन् २०२५ मा रिलिज लक्ष्य राखिएको सिनेमाका कार्यकारी निर्माता क्षितिज सुवेदी खत्री हुन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।