बलात्कारका घटना न्युनिकरणमा ‘देवी’ बहसको बिषय बनोस् भन्ने अपेक्षा छ : शिल्पा मास्के

बलात्कारका घटना न्युनिकरणमा ‘देवी’ बहसको बिषय बनोस् भन्ने अपेक्षा छ : शिल्पा मास्के

‘सिनेमाको स्क्रिप्टमा बस्दा हामीले उठाएका बिषयवस्तुहरु पोलिटिकली ठीक हुन्छ कि हुँदैन भनेर छलफल गर्यौं । बलात्कारको तथ्यांकदेखि पत्रपत्रिकामा आएको लगभग सबै आर्टिकल संकलन गरेर गहिरोसित अध्ययन गर्यौं । अनि मात्रै हामीले ‘देवी’लाई सत्य घटनाबाट प्रभावित काल्पिनिक सिनेमाको रुपमा निर्माण गरेका हौंं’, उनले भनिन् ।

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तीजको अवसर पारेर भदौ २१ गते शुक्रबारबाट प्रदर्शनमा आउने नारी प्रधान सिनेमा ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको दौडधुप तीब्र छ । उनी सिनेमाको अभिनेत्री मात्रै नभई सह-निर्मात्री समेत हुन् । त्यसले पनि उनको दौडधुप अन्य सिनेमाभन्दा बढि नै देखिन्छ ।

यसैबीच आइतबार काठमाडौंको एक रेष्टुरेन्टमा आयोजित सिनेमा ‘देवी’को पत्रकार भेटघाट कार्यक्रममा भेटिएकी अभिनेत्री मास्केले सिनेमाको बिषयमा खुलेर कुरा गरिन् । उक्त भेटमा यो सिनेमाको स्कृप्ट लिएर आफुहरु धेरै निर्माताको पुग्दा कसैले पनि यो कमर्शियल सिनेमा नरहेको भन्दै लगानी गर्न नमानेपछि अभिनेत्रीको रुपमा जोडिएकी आफै निर्माणमा सहकार्य गर्न तयार भएको बताइन् ।

‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्शियल सिनेमा होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन । मलाई चाहिँ कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो’, उनी सम्झन्छिन् । निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने अनुभव उनको छ ।

‘निर्माताको जिम्मेवारी निभाउँदा चुनौती चाहिँ एकदमै हुँदो रहेछ’, उनी सुनाउँछिन्, ‘प्रचारमा हुँदा समेत दिमाग धेरै ठाउँमा पुग्ने रहेछ । निर्माता बन्नु गाह्रो काम हो । तर, पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ ।’ यो सिनेमा व्यावसायिक रुपमा सफल भएमा आगामी दिनमा पनि सिनेमा निर्माणलाई निरन्तरता दिने योजना शिल्पाको छ ।

व्यापारका लागि ‘देवी’मा लगानी नगरेको उनी बताउँछिन् । ‘व्यापारिक दृष्टिकोणले मैले यो सिनेमामा लगानी गरेकी होइन । त्यो हिसाबले त क्राइम-थ्रिलर सिनेमामा लगानी गर्न गाह्रो छ । तर, यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी सिनेमा रुचाइन थालिएको छ । त्यसैले हामीले सामाजिक सन्देशका लागि सिनेमा निर्माण गरौं, मिहेनत गरेर राम्रो भए व्यापारिक रुपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौं’, उनले भनिन् ।

संजोग राईको निर्देशनमा निर्माण भएको सिनेमा ‘देवी’ले बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा उठाएको छ । सिनेमामा शिल्पाले बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निर्वाह गरेकी छन् । उनलाई रिपोर्टिङ कसरी गरिन्छ भन्ने ज्ञान पहिला थिएन । यसैले एक दैनिक पत्रिकाकी महिला पत्रकारसँग भेट गरेर उनले सिनेमाको छायांकनभन्दा अगाडि रिपोर्टिङको अनुभव सुनेकी थिइन् । त्यसले चरित्र निर्माण गर्न ठूलो सहयोग पुगेको उनले बताइन् ।

सिनेमाले उठाएको विषयवस्तुमाथि धेरै अनुसन्धान गरिएको दाबी अभिनेत्री शिल्पा मास्केको छ । ‘सिनेमाको स्क्रिप्टमा बस्दा हामीले उठाएका बिषयवस्तुहरु पोलिटिकली ठीक हुन्छ कि हुँदैन भनेर छलफल गर्यौं । बलात्कारको तथ्यांकदेखि पत्रपत्रिकामा आएको लगभग सबै आर्टिकल संकलन गरेर गहिरोसित अध्ययन गर्यौं । अनि मात्रै हामीले ‘देवी’लाई सत्य घटनाबाट प्रभावित काल्पिनिक सिनेमाको रुपमा काम गरेका हौंं’, उनले भनिन् ।

‘हामीले पत्रपत्रिकाबाट जेजति घटनाहरु संकलन गर्यौं, त्यस घटनाका भिक्टीमलाई भेट्ने आँट भने गर्न सकेनौं । किनकी त्यो बिषय नै निकै संमवेदनशिल थिए । जसले गर्दा हामीले पत्रिकाका कटिङ्गहरु सिनेमामा प्रयोग गरेका पनि कुनैपनि घटनाका भिक्टीमको नाम सिनेमामा प्रयोग गरेका छैनौं । त्यसको कारण हामीले गरेका कामको फरक अर्थ नगागोस् र त्यो घटना दर्शकमा गिजोलियो अथवा कानुनी प्रभावित भयो भन्ने नलागोस् भन्ने कुरामा सचेत भएका थियौं’, शिल्पा भन्छिन् ।

यसो भन्दै गर्दा हामीले उठाएको विषष्वस्तु ठुलो माससम्म पुगोस र त्यसले यस्ता घटनाहरुलाई कसरी निर्मुलीकरण गर्न सकिन्छ भन्ने बहस चलोस भन्ने चाहाना रहेको उनी बताउँछिन् । हामीले पनि सिनेमा आफ्नो बिचार दर्शकलाई लाद्नेभन्दा पनि बहसको रुपमा यस्ता बिषय उठ्न पर्छ भन्ने हिसावले निर्माण गरिएको शिल्पाले बताइन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

तस्वीर : बद्री थापा