कात्तिक ३० मा रिलिज हुने ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक

कात्तिक ३० मा रिलिज हुने ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कात्तिक ३० गतेबाट सिनेमा ‘केटी हराएको सूचना’ पनि प्रदर्शनमा आउने भएको छ । मंगलबार सिनेमाको प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको टिजर पनि सार्वजनिक गरिएको हो । लगभग एक मिनेट लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ ।

अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेमलाई दर्शाउँदै सुरु भएको टिजर नाजिरले हात, खुट्टा र मुख बाँधेर सृष्टिलाई बन्धक बनाएको दृश्यसँगै टुंगिएको छ । धोका र बदलाको कथामा सिनेमा निर्माण भएको सिनेमाको सार्वजनिाक टिजरले संकेत गर्छ ।

सिनेमाको निर्देशन करिब बत्तीस वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका हुन् । उनी स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ ।

नेपालकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका हुन् ।

यही मितिमा नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ र अभिनेता सौगात मल्लको मुख्य भुमिका रहेको सिनेमा ‘बम बहादुर’ रिलिज हुँदैछन् ।