पुष २६ मा दयाहाङको ‘कार्साङ्’ रिलिज घोषणा

पुष २६ मा दयाहाङको ‘कार्साङ्’ रिलिज घोषणा

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ्’को प्रदर्शन मिति घोषणा भएको छ । आगामी पुष २६ गतेलाई मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका शीर्ष अभिनेता दयाहाङ राई र डेव्यु-अभिनेत्री सिर्जना निङलेखु प्रस्तुत छन् । सुरुवाल मात्र लगाएर रिसाएको भावमा देखिएका उनको कसैसँग ठूलै झगडा भएको प्रष्ट बुझिन्छ ।

दयाहाङको छेउमा उनकी श्रीमतीको भूमिकामा रहेकी सिर्जना आँगनमा बसेर रोइरहेकी छन् । बिर्को खोलिएको ग्यालिनबाट पानी पोखिएको छ । आँगनको एक छेउमा आगो पनि दन्किरहेको छ । पृष्ठभूमिमा दुईवटा घर देखिन्छन् । एक घरको माथिल्लो भागको बाहिर मकैका झुता झुन्डिएका छन्, जसले उनीहरूको आर्थिक अवस्थालाई दर्शाउँछ । सिनेमाको पोस्टरले बलियो दृश्यभाषाको संकेत गर्छ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको सिनेमामा दयाहाङ र सिर्जनासहित दीया मास्के, जितु नेपाल, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमाका निर्माता छायांकार प्रधान स्वयंम हुन् । सिनेमाको सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।