दीपेन्द्रको निर्देशनमा ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने, मुख्य भूमिकामा हरिवंश र प्रकाश

दीपेन्द्रको निर्देशनमा ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने, मुख्य भूमिकामा हरिवंश र प्रकाश

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘हरिबहादुरको जुत्ता’ निर्माण घोषणा भएको छ । यो सिनेमामा अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेछ ।

गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो सिनेमा निर्माण गर्न लागेका छन् । बुधबार चलचित्र विकास बोर्डमा यो नाममा सिनेमा दर्ता गराउँदै निर्माण इजाजतसमेत निर्माता ओलीले लिएका हुन् ।

हरिवंशले सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो’, अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफै सिनेमा बनाउँछु भनेर उहाँ तयार हुनुभयो । त्यसपछि सिनेमाको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । सिनेमाको आइडिया युनिक छ, राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

म्युजिक भिडियोमा अभिनेता आचार्य र निर्माता ओलीबीच लगातार सहकार्य भइरहेको थियो । ओली पहिलोपटक सिनेमा निर्माण गर्न लागेका हुन् । आफुले खोजेजस्तै कन्सेप्ट हरिवंशले सुनाएपछि आफु सिनेमा निर्माणमा होमिएको ओलीले बताए । अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो ।

प्रकाशका अनुसार यो सिनेमा तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ । ‘म सानैदेखि हरिवंश दाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ,’ प्रकाश भन्छन्, ‘संगीतमा लाग्छु भन्ने त थियो तर सिनेमामा यसरी काम गर्न पाउँला, सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुशी छु । निर्देशनमा दिपेन्द्र दाईको बेग्लै उचाई छ । यो सिनेमा तीन फरक पुस्ताका कलाकर्मीलाई जोडेको छ । पक्कै केही नयाँ र विशेष हुनेछ भन्नेमा म आशावादी छु ।’

कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन । सिनेमाको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ ।