प्रविधि पूजा गर्दै सन्तोष सेनले सुरु गरे ‘बलिदान’को छायांकन

प्रविधि पूजा गर्दै सन्तोष सेनले सुरु गरे ‘बलिदान’को छायांकन

द सिनेमा टाइम्स
567
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सन्तोष सेनको निर्देशनमा निर्माण हुने सिनेमा ‘बलिदान’को छायांकन प्रविधि पूजासँगै शुभारम्भ गरिएको छ । शुक्रबार हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा पूजा गरिएको हो ।

शनिवार मोरङको इटहरीमा सिनेमाको पहिलो शट खिचिने छ । जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहनेछन् । निर्देशक सेनका अनुसार, केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल र दिव्य देवलगायतका कलाकारहरूले सिनेमाको छायांकन सुरु गर्नेछन् ।

‘बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज अनुसन्धानसँगै प्रि-प्रोडक्सनमा गरिएको मेहनतपछि आज प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा प्रवेश गरेका छौं । भारतका प्रख्यात प्राविधिक र नेपालका सम्पूर्ण प्राविधिक तथा कला डिपार्टमेन्टका सदस्यलाई एकत्रित गर्दै हरितालिका तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै बलिदानको बिगुल फुकेका छौं’, निर्देशक सेनले भने ।

सिनेमाको कथा नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित छ । निर्देशक सेनले सिनेमालाई महाकथाका रूपमा चित्रण गर्दै यो प्रोजेक्टका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताए ।

‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायौकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्नेछ । सिनेमामा प्रयोग गरिने लाइट, साउन्ड र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो । छायांकनका लागि इटहरीस्थित बिएमसी स्टुडियो र बिराटनगर क्षेत्रमा भव्य सेट तयार गरिएको छ । सिनेमा करिब ६० प्रतिशत छायांकन स्टुडियोमा गरिने निर्देशक सेनले जानकारी दिए ।

आसुसेन फिल्मस् प्रालि र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन् ।