संगीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘संगीत स्वराधना’ विमोचन

संगीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘संगीत स्वराधना’ विमोचन

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाष्त्रीय संगीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘संगीत स्वराधना’ विमोचन गर्दै बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कलासंस्कृतिलाई जोगाउन संगीत क्षेत्रको योगदान महत्वपूर्ण हुने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।

‘अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबर्जस्त सांस्कृतिक हस्तक्षेप गरेको यथार्थ हामी सबैले भोगिरहेकै छौं । यस्तो स्थितीमा हाम्रो मौलिक कलासंस्कृति जोगाउन गीत संगीतको क्षेत्र निकै महत्वपर्ण हुन्छ’, उनले भने ।

समाजलाई कुन मार्गमा अघि बढाउने भन्ने कुरामा गीतसंगीत र कलासाहित्यको विशेष भूमिका हुने उनले बताए । संगीतको विकास र प्रवर्धनले नेपाली समुदायलाई सुसांस्कृतिक र एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास आफूले लिएको उनले बताए ।

नेपाली कलासंस्कृतिको मौलिकता जोगाउने कुरामा सोधमुलक र खोजमुलक पुस्तक प्रकाशन हुनु हामी सबैको लागि गर्वको विषय रहेको अध्यक्ष दाहालको भनाई छ । ‘यो कार्यमा यो पुस्तकले मजबुत सिँढी थप्ने विश्वास मैले लिएको छु’ उनले भने । दाहालले राजनीतिक र सांगठनिक अनुभव सनुाउँदै संगीत महत्वपूर्ण पक्ष रहेको बताए ।

वरिष्ठ संगीतकर्मी दीपक जंगमले संगीतसाधकले समय खर्च गरेर तयार पारेको पुस्तक अवश्य पनि पठनीय हुने बताए । लामो समयदेखि शाष्त्रीय संगीतमा सक्रिय श्रेष्ठद्वारा लिखित उक्त पुस्तक शाष्त्रीय संगीत बुझ्न र जान्न रुचाउनको लागि उपयोगी हुने बताइएको छ ।

वरिष्ठ संगीतकार शुम्भजीत बासकोटाले शाष्त्रीय संगीतप्रेमीका लागि यो पुस्तक पठनीय हुने बताए । अन्तर्राष्ट्रियरुपमै नेपालमा पनि यस्ता शाष्त्रीय संगीतका गुरु छन् भनेर अवगत गराउन पुस्तकले योगदान दिने उनको तर्क छ । लेखक श्रेष्ठको संघर्षमय सांगीतिक जीवनले संगीतको सफलतामा पुग्न कति संघर्ष गर्नुपर्छ भन्ने कुरालाई पुस्तकले उतारेको उनको भनाई छ ।

कार्यक्रमको संयोजन नेपाल संगीतकार संघले गरेको थियो । संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले शाष्त्रीय संगीत सिक्न र बुझ्न चाहनेका लागि यो पुस्तक पठनीय हुने बताए ।