धिरज भन्छन्- ‘खुस्मा’ विशुद्ध लभस्टोरी हो

धिरज भन्छन्- ‘खुस्मा’ विशुद्ध लभस्टोरी हो

उपासना भन्छिन्- फरक वातावरणमा हुर्किएको प्रेम कथा 'खुस्मा' भएकाले मैले क्यारेक्टरलाई न्याय गर्न गाउँमै गएर अध्ययन गरेकी थिए ।

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘खुस्मा’ निर्माण टिमले सिनेमा विशुद्ध लभस्टोरीको वरिपरि घुमेको बताएका छन् । द्वन्द्वको पृष्ठूभूमिमा प्रेमको कथा भनिएको निर्माणपक्षले जनाएको छ ।

अभिनेता धिरज मगरले माओवादी द्वन्द्वले प्रेम सम्बन्धमा पार्ने प्रभाव नै सिनेमा ‘खुस्मा’को मुख्य विषय भएको बताए । सिनेमाले बाल्यकालमा आफ्नो प्रेमलाई लिएर गरिने कल्पनालाई मुख्य विषय बनाएको र त्यसकै वरिपरि घुमेको उनको भनाइ छ ।

‘हामी बाल्यकालमा आफ्नो प्रेम यस्तो होस् भनेर जस्तो प्रेमको कल्पना गर्छौं त्यस्तै पियोर प्रेम कथा यो सिनेमामा देख्न सकिन्छ ।’ धिरज भन्छन् । सिनेमाले स्थानीय जनजीवन र युवाको कथा बोल्ने बताए ।

धिरजले स्थानीय जनजीवन र चरित्र बुझ्न आफूले वर्कसपमा धेरै डकुमेन्ट्री हेरेको र पुस्तक अध्ययन गरेको सुनाए । आफूले यो सिनेमामा पनि फरक अवतारमा देखिने बताए । आफू टाइपकास्ट नभएको उनले प्रष्ट पारे । यसअघिका सिनेमामा जस्तै भिन्न अवतार र रोलमा आफू देखिने उनको भनाइ छ । आफ्नो चाहना पनि भिन्नभिन्न रोलमा काम गर्ने रहेको उनले सुनाए ।

अभिनेत्री उपासना सिंह ठकुरी फरक इन्भाइरोमेन्टमा हुने प्रेम कथामा आफूले ‘खुस्मा’मा काम गरेको बताएकी छन् । सिनेमामा गाउँको कल्चर र कथा रहेको उनको भनाइ छ । क्यारेक्टरलाई न्याय गर्न आफूले गाउँमै गएर अध्ययन गरेको उनले स्मरण गरिन् । हप्तौंसम्म स्थानीय कल्चर स्थानीयको बीचमा बसेर काम गरेको उनको भनाइ छ । सोल्टा सोल्टिनीको सम्बन्ध आफूले त्यहीँ बसेर र भेटेर बुझेको उनले जानकारी दिइन् ।

‘वास्तवमा हाम्रो सिनेमाको फर्स्ट ड्राफ्ट अर्कै थियो । जब हामी गाउँमै गएर काम गर्यौं । त्यसपछि कथामा परिवर्तन गर्यौं । निर्देशक पनि यसमा तयार हुनुभयो,’ उनले भनिन्, ‘सानो सानो कुरामा ध्यान दिएर सिनेमा बनाएका छौँ । दर्शकको मन छुन्छ भन्ने लाग्छ ।’

निर्देशक अशोक थापा मगर सिनेमा द्वन्द्वको कथा नभएको प्रष्ट पार्छन् । उनले द्वन्द्वको पृष्ठभूमीमा कथा भनिएको तर द्वन्द्वकै कथा भने नभएको बताए ।

‘हाम्रो सिनेमा सरकार-माओवादी द्वन्द्वको कथा होइन । द्वन्द्वको बाछिटा मात्रै हो । यो सिनेमा कुनै पक्षतिर ढल्किएको छैन । तटस्थ भएर बनेको छ,’ उनले भने । द्वन्द्वमा प्रवेश नै नगरी सिनेमा बनाएको उनको भनाइ छ ।

सिनेमा कसैको व्यक्तिगत वास्तविक कथामा नबनेको तर केही अशं कसैको कथासँग मिल्नसक्ने उनको भनाइ छ । आफ्नो साथीको आफन्तले भोगेको कुराले टच गरे पनि रियल स्टोरीमै लेखिएको कथा नभएको उनले प्रष्ट पारे ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखक तथा निर्देशन अशोक थापा मगर हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन् । फिचर फिल्म भने यो उनको पहिलो हो ।

डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौवटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

सिनेमामा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्गबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्दैछ ।