युट्युब ट्रेन्डिङ धिरज र उपासनाको ‘खुस्मा’ ट्रेलर, कन्टेन्टले मन छोएको दर्शक प्रतिक्रिया

युट्युब ट्रेन्डिङ धिरज र उपासनाको ‘खुस्मा’ ट्रेलर, कन्टेन्टले मन छोएको दर्शक प्रतिक्रिया

‘खुस्मा’को ट्रेलर हेरेकी एक दर्शक लीला सिजालीले लेखेकी छन्, ‘ सिनेमा बनाएसी यत्तिको कन्टेन्ट चै हुनुपर्छ है ! धिरज र उपासनाले फाड्ने निश्चित छ । हेर्न आतुर छु ।’

द सिनेमा टाइम्स
287
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को हिजो मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो । सिनेमाका मुख्य अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलर दर्शकले मन पराएका छन् ।

सिनेमाको ट्रेलर सार्वजनिक भएको केही घण्टामा नै युट्युब ट्रेन्डिङमा उक्लिएको थियो । हाल सिनेमाको यो ट्रेलर मूभिज् सेक्सन अर्न्तगत चौथों स्थानमा छ । सिनेमाको ट्रेलरले हालसम्म २ लाख ६७ हजा भ्युज, २२ हजार लाइक र १ हजार ५ सय बढि प्रतिक्रिया पाएको छ । सिनेमाको यसअघि रिलिज गीत र टिजरले दर्शकमाझ बनाएको हाइप ट्रेलरले अझै बढाएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको छ ।

ट्रेलरको कमेन्टबक्समा अधिकांश दर्शकले सिनेमा हेर्न आतुर रहेको र धिरज र उपासनाको जोडी गजव देखिएको लेखेका छन् । ‘खुस्मा’को ट्रेलर हेरेकी एक दर्शक लीला सिजालीले लेखेकी छन्, ‘ सिनेमा बनाएसी यत्तिको कन्टेन्ट चै हुनुपर्छ है ! धिरज र उपासनाले फाड्ने निश्चित छ । हेर्न आतुर छु ।’

यस्तै, सिनेमाको ट्रेलर हेरेका अर्का दर्शक द हिमालयन टागरले लेखेका छन्, ‘ आफ्नै कथा बस्तु आफ्नै रहनसहन आफ्नै पन सिनेमा सुपरहिट हुनेछ यसमा दुई मत छैन । कपि गरेर सिनेमा बनाउनेहरुको दिन गए अब । त्यस्ता सिनेमाहरु दुई दिन पनि चल्दैन भन्ने पुष्टि भइसकेको छ । सम्पुर्ण ‘खुस्मा’ टिमलाई अग्रिम शुभकामना ।’

यता अर्का दर्शक इनुप पुनले लेखेका छन्, ‘ ट्रेलरले नै रुवाउला जस्तो गर्यो झन पुरै सिनेमाले त के पो गराउने हो । बाफ्रे कथा बबाल छ जस्तो लाग्यो । धिरज र उपासनाको जोडि सार्है राम्रो सुहाएको छ । यो ‘खुस्मा’ सिनेमालाई धेरै धेरै शुभकामना ।’

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।