‘होस्टेल ३’मा आर्यन र परीक्षा अनुबन्धित

‘होस्टेल ३’मा आर्यन र परीक्षा अनुबन्धित

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘होस्टेल ३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण टिम र आर्यनबीच बुधवार लिखित सम्झौता भएको हो ।

आर्यन सिग्देल सिनेमामा वार्डेनको भूमिकामा देखिनेछन् । निर्देशक सशान कँडेल आर्यनको व्यस्त सेड्युलबा बावजुद पनि आर्यनले ‘होस्टेल ३’मा जोडिएकोमा खुसी देखिए । ‘उहाँले निभाउने वार्डेनको भूमिका सिनेमाको मेरुदण्ड हो । यस अघि पनि ‘होस्टेल’ शृङ्खलामा वार्डेनको भूमिका चर्चित थियो, तर यस पटकको भूमिका अझै बलियो छ’, कँडेलले भने ।

अभिनेता सिग्देलसँगै सिनेमाको बिशेष भुमिकामा अभिनेत्री परीक्षा लिम्बु पनि अनुबन्धित भएकी छन् । यसअघि आर्यन र परीक्षाले सिनेमा ‘पुजार सार्की’मा एकसाथ काम गरेका थिए । बिशेष भुमिकामा उनीहरु प्रवेशसँगै सिनेमामा कलाकारको लाइनअप रोचक बनेको विश्वास निर्देशक कँडेलको छ ।

‘होस्टेल ३’ फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ । बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि सिनेमाको वितरण अधिकार बिक्री भइसकेको दाबी निर्माण कम्पनिको छ । जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाई तथा मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले सिनेमाको वितरण अधिकार लिएका हुन् ।

सिनेमामा आर्यन र परीक्षासँगै पारस बम (कुल ब्वाय), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय रहनेछ । सिनेमाको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलकै हो ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्न लागेको सिनेमाका कार्यकारी निर्माता शंकर कोइराला तथा निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता रहेको सिनेमाका लाइन प्रोड्युसरमा भेषराज गौतम छन् ।