दर्शक भन्दैछन् करोडौं कमाउन सुवेक्षा

दर्शक भन्दैछन् करोडौं कमाउन सुवेक्षा

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत साउनको अन्तिम सोमबार ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भाको छैन’ रिलिज भयो । गीत रिलिजको केही समयपछि निर्देशक दीपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखे- ‘छक्का पञ्जा’को गीत आएपछि दसैँ आयो भन्ने महसुस हुन्छ ।

यो सायद दीपेन्द्रलाई मात्रै होइन, धेरैले गर्ने महसुस हो । त्यसैले त होला, तपाई दीपकराज गिरी र दीपाश्री निरौलाले फेसबुकमा गरेका जुनसुकै कमेन्टमा गएर हेर्नुस्, उनीहरूलाई दुईटा प्रश्न सोध्नेको संख्या ठूलो हुन्छ । पहिलो प्रश्न- ‘छक्का पञ्जा’ युट्युबमा कहिले आउँछ ? दोस्रो- ‘छक्का पञ्जा’को अर्को सिरिज कहिले आउँछ ?

‘बिहे भाको छैन’ गीतमा थुप्रै कमेन्ट छन् । कमेन्ट गर्ने मध्येका एक हुन्, बुद्दि हिमाल खड्का । उनी लेख्छन्- ‘दामी गीत । यो सालको विवाह, ब्रतवन्ध, पाटी, वनभोजजस्ता कार्यक्रमलाई मनोरञ्जन दिने गीत ।’

झट्ट सुन्दा ट्वाक्क याद आउने शब्द र मिठासपूर्ण लयले गीतले दर्शकको ध्यान खिच्छ । त्यसैले होला सायद गीतले सिनेमाको रिरिजको ब्रान्ड अनुसार भ्युज पनि पाइरहेको छ ।

यसलाई पुष्टि गर्छ युट्युबका अर्का प्रयोकर्ताको यो कमेन्टले । गीत सुनेपछि विज गोपाल नामका व्यक्ति कमेन्ट गर्छन्- ‘दीपक दाइसँग पैसा कमाउने आइडिया पनि छ । दर्शकको मन जित्ने विश्वास पनि छ ।’

जति जति ‘छक्का पञ्जा’ सिरिज थपिँदैछ । त्यति नै बक्स अफिसिको ग्राफ पनि उकालो लागिरहेको छ । त्यसैले यो सिरिजमा पनि दर्शकले विश्वास गरेका छन् ।

गोविन्द थापाले गीत हेरेर ‘छक्का पञ्जा’ टिमप्रति पूर्ण विश्वास गर्दै सुवेक्षाका शब्दहरू यसरी खर्चिन्छन्, ‘उत्कृष्ट कथा अर्ग्यानिक हास्य संबाद, चर्चित कलाकार केदार घिमिरे माग्ने बुढा, दीपकराज गिरी, दीपाश्री निरौलासहित अन्य क्षमतावान कलाकारले भरिएको छक्का पञ्जालाई १०० करोड कमाइको शुभकामना ।’

भीमसेन खड्का युट्युबमा गएर घतलाग्दो कमेन्ट गर्छन्, सायद उनको कमेन्ट धेरैलाई चित्त बुझ्छ पनि हो । दीपक-दीपा स्वयंले पनि यो अनुभव गरेका छन् । उनीहरूले सार्वजनिक रूपमै भन्दै आएका छन् । दीपक बेलाबेला भन्ने गर्छन्- जसले हाम्रो आलोचना गर्नुहुन्छ, उहाँ नै हाम्रो सिनेमा रिलिजको पहिलो दिनको पहिलो शोमा गएर हेर्नुहुन्छ, त्यो पनि परिवारसहित ।

भीमसेन यही कुरा यसरी लेख्छन्, ‘जति नै हेर्दिन भने पनि दीपक र दीपाको फिल्म हेर्नै पर्ने, गीत सुन्नै पर्ने सबैलाई गज्जव छ ।’दीपक-दीपा सस्तो कमेडी गर्छन् भनेर उनीहरूको आलोचान गर्नेको संख्या ठूलो छ । तर उनीहरुकै सिनेमा हेर्न परिवारसहित हलमा जानेको लर्को लाग्छ । नेपाली सिनेमाका रेगुलर दर्शक त जान्छन् नै व्यवसायी देखि पोलिटिसियनसम्म जान्छन्, सिनेमा हिट मात्रै हुँदैन । सिनेमाले रेकर्ड ब्रेकिङ कलेक्सन गर्छन् ।

नरेश गिरी नाम गरेका व्यक्ति कमेन्ट गर्छन्- सिनेमा ‘छक्का पञ्जा’ हिट हुने पक्का छ । गीत साहै मनपर्यो । गीतभन्दा पनि दर्शकलाई सिनेमा हेर्ने हतारो छ । त्यसैले त्यस्तै कमेन्ट आइरहेका छन् ।

रमाइलो पक्ष त के छ भने, माग्ने बुढा (केदार घिमिरे)का फ्यान यता हाजिर हौँ भन्ने कमेन्टमा सयौँको लाइक आइरहेको छ । यसले उनको लोकप्रियतालाई दर्शाउँछ ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ बोलको गीतमा दीपक शर्माको संगीत, अभिनेता तथा निर्माता गिरी र संगीतकार शर्माको शब्द रचना रहेको छ । सवीन शर्मा र बेनिशा पौडेको स्वर छ । रिकेश गुरुङले एरेञ्ज गरेको सिनेमाको सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।

गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । सिनेमा दशैंको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा दीपक, वर्षाका अलवा केदार घिमिरे (माग्ने बुढा)को पनि मुख्य भुमिका रहेको छ ।

सिनेमामा अन्य कलाकार को-को रहेका छन् भन्ने निर्माण टिमले नखुलाए पनि अभिनेता तेज गिरी र आर्यन सिग्देलको पनि ‘छक्का पञ्जा ५’मा अभिनयको खुलिसकेको छ ।

अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ ।

सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।