‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत ‘काँधेकुरी’ सार्वजनिक

‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत ‘काँधेकुरी’ सार्वजनिक

द सिनेमा टाइम्स
406
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मी पूजाको अवसर पारेर कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सिनेमाको ‘काँधेकुरी’ बोलको गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत, स्वर र एरेञ्ज अनि हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन रहेको छ ।

आइतबार सार्वजनिक गरिएको गीतमा सिनेमाका मुख्य कलाकार बिजय बराल, प्रकाश सपुत र बालकलाकार स्वंयम केसी फिचर्ड छन् । यो गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट प्रारम्भ हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग सिनेमाका मुख्य पात्र विजय बरालको अनुहारमा देखिन्छ ।

त्यसपछि प्रारम्भ हुन्छ गीत, जसमा घर–घरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका गन्धर्व पात्र बिजय देख्न सकिन्छ । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ । बाउ–बाजेको पालादेखि नै माग्दै हिँड्नु परेपनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र विश्वास बोलेको छ ।

शिक्षा बिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ । भिडियोमा विजयसँगै सिनेमाका अर्का मुख्य कलाकार प्रकाश सपूत गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा देखिन्छ । जसले दर्शकमाझ कौतुहल्ता जगाउन सफल हुन्छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ । सिनेमामा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा वितरण गर्दै आएको सेभेन सिज इन्टरटेनमेन्टले रामबाबु गुरुङको बाँसुरी फिल्मस्सँग यो सिनेमा प्रदर्शनका लागि सहकार्य गरेको हो । सिनेमाका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सिनेमालाई नेपाल र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । नेपाली सिनेमाको विदेश वितरक सेभेन सिजले पहिलो पटक ‘पूर्ण बहादुरको सारङ्गी’बाट नेपालमा पनि सिनेमा वितरणको सुरुवात गरेको हो । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् ।