दर्शकको मन जित्दै ‘सानो संसार’को ट्रेलर, कस्तो गर्ला व्यापार ?

दर्शकको मन जित्दै ‘सानो संसार’को ट्रेलर, कस्तो गर्ला व्यापार ?

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सानो संसार’ यतिवेला चर्चामा छ । सिनेमाको मुख्य भूमिकामा सम्पुर्ण नयाँ कलाकार हुँदा पनि कथावस्तुका कारण चर्चाको विषय बनेको हो ।

सिनेमाको केही दिन अगाडी सार्वजनिक ट्रेलरले पाएको भ्युजले पनि सिनेमाको उत्साह कुन लेभलमा छ भन्ने देखाउँछ । हालसम्म सिनेमाको ट्रेलरले ६ लाख ९५ हजार भ्युज, १० हजार लाइक र २ सय बढि प्रतिक्रिया बटुलेको छ । सिनेमाको सार्वजनिक ट्रेलरको कमेन्टबक्समा कथावस्तुले आफूलाई छोएको भन्दै तारिफको ओइरो लागेको छ ।

सिनेमाले मध्यम वर्गीय परिवारले गर्ने संघर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई मर्मस्पर्शी ढंगले पस्किएको छ । सिनेमाको सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ कौतुहल्त पैदा गर्नुका साथै मध्यम वर्गीय परिवारलाई हलसम्म तान्ने विश्वास निर्माण टिमको छ । सिनेमाका प्रचार सामाग्रीमा त्यो पावर देखिएको पनि छ । जसले हलमा दर्शकको चाप देखाउन सक्ने अनुमान गर्न सकिन्छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।