करोड क्लबमा ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीत, अग्रीम टिकट बुकिङ पनि खुल्यो

करोड क्लबमा ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीत, अग्रीम टिकट बुकिङ पनि खुल्यो

द सिनेमा टाइम्स
525
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ ९ गते एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको सिनेमा ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ गीत रिलिजको २३ दिनमै करोड क्लबमा प्रवेश गरेको छ ।

यसवर्ष सार्वजनिक भएका सिनेमाका गीतहरु मध्ये यो सवैभन्दा छिटो करोड क्लबमा प्रवेश गर्ने गीत बनेको हो । यसअघि केकी अधिकारीको लगानीमा निर्माण भएको सिनेमा ‘बोक्सीको घर’को गीत बुझिन मैले पनि रिलिजको भएको १ महिनाको आसपासमै करोड क्लबमा प्रवेश गरेको थियो । त्यो गीत पश्चात यसवर्ष सबैभन्दा धेरै चर्चामा रहेको गीत नै ‘खुस्मा’को ‘रुकुम मैकोट’ बनेको छ ।

अहिले यो गीत सामाजिक सञ्जाल फेसबुक रिल्स र टिकटकमा भाइरल नै बनेको छ । यो गीतमा फेसबुक र टिकटकमा लाखौं भिडियो बनेमा छन् । सिनेमाको गीत तीन हप्तादेखि लगातार युट्युबको ट्रेन्डिङको म्युजिक सेक्सन अन्तर्गत शिर्ष स्थानमा कब्जा जमाएर बसेको छ । हालसम्म यो गीतलाई १ करोड ४२ हजार भ्युज, १ लाख ५७ हजार लाइक र ३ हजार ८ सय बढि कमेन्ट पाएको छ ।

सिनेमाको यो गीत चर्चामा रहँदा भोली बिहीबार असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने सिनेमाले हिजो मंगलबार गरिएको प्रिमियर शोमा तारिफ बटुलेको थियो । जसको प्रत्यक्ष फाइदा भोली बिहीबारबाट हलमा देखिने विश्वास निर्माण टिमको छ । यसबीच हिजो मंगलबारबाट नै देशभरका मल्टीप्लेक्सदेखि सिंगलस्क्रिनसम्मका हलले अग्रीम टिकट बुकिङ खुल्ला गरेका थिए ।

अहिलेसम्म भोलीका लागि सिनेमाको राम्रै अग्रीम टिकट बुकिङ भैरहेको जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको प्रचार सामाग्रीले बनाएको हाइप हेरेर सिनेमालाई देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उच्च शो प्रदान गरेका छन् । विशेषगरी नेपाली सिनेमाको टिकट अनलाइनबाट भन्दा पनि डोर सेल बढि हुने भएकाले पनि सिनेमाले बिहीबार परेको बिदाको फाइदा उठाउने विश्वास हल सञ्चालक तथा वितरकलाई समेत रहेको छ ।

हालसम्म सिनेमाले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २४ शो र मोफसलमा ३६ शो दिएको छ । यता सिनेमालाई आईएनआई सिनेमाजले १६ शो, बिग मूभिजले ७ शो, वान सिनेमाजले ९ शो, एफक्युबले ६ शो, बिएसआर मुभिजले ४ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले ५ शो, सिने डी सेफले ४ शो उपलब्ध गराएका छन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।