रुचाइयो निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ ट्रेलर, असोज १७ को प्रतिक्षा रहेको प्रतिक्रिया

रुचाइयो निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ ट्रेलर, असोज १७ को प्रतिक्षा रहेको प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमा ‘बेहुली फ्रम मेघौली’को ट्रेलर दर्शकले रुचाएका छन् । असोज १७ गते दशैंको घटस्थापनाको अवसरमा रिलिज हुने सिनेमा यो वर्षको प्रतिक्षित सिनेमा मध्ये एक हो ।

सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीलाई पनि दर्शकले रुचाएका छन् । विशेषगरी गत साउन अन्तिममा सार्वजनिक गरिएको सिनेमाको गीत छड्के सलामले दर्शकमाझ हाइप राम्रो बनाएको छ । यो गीतमा भिडियो बनाउने मध्ये उत्कृष्ट भिडियोलाई सिनेमामा नै समावेश गर्ने निर्माण टिमको घोषणा पश्चात छड्के सलाम गीतको एक अन्तरा टिकटकदेखि फेसबुक रिलसम्म भाइरल छ ।

योसँगै बिहीबार सार्वजनिक कमेडी फ्लेवरको टिमले दर्शकमाझ अझै कौतुहल्ता थप्न सफल देखिन्छ । सिनेमाको ट्रेलर युट्युबमा सार्वजनिक भएको २ दिन पुग्नै लाग्दा ६ लाख ८८ हजार भ्युज र १२ हजार लाइक तथा चार सय बढि प्रतिक्रिया पाएको छ । युट्युबको कमेन्टबक्समा अधिकांशले सिनेमाको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन् ।

सिनेमाको सार्वजनिक ट्रेलरमा बम बहादुर बिक नामका दर्शकले देखेका छन्, ‘निश्चल बस्नेत नेपाली सिनेमाका एक उत्कृष्ट निर्देशकका साथै अभिनयमा पनि उच्च क्षमता भएको सर्वगुण सम्पन्न ब्यक्ति हुन् । यो सिनेमा सुपरहिट होस । शुभकामना ।’ यस्तै अर्का दर्शक अनुज मिश्र लेख्छन्, ‘ट्रेलर हेर्दा गज्जब लाग्यो, सिनेमालाई सफलताको कामना व्यक्त गर्दछु ।’ यसका साथै धेरै दर्शकले ट्रेलरको कमेन्टबक्समा दर्शकमाझ हिट भैरहेको गीत ‘छड्के सलाम’को अन्तरा ‘केही नभने है मेरी बुहारीलाई’ मेन्सन गरेका छन् ।

भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि एक परिवारले छोरीका लागि योग्य वर पाउन कस्तो संघर्ष गर्नुपर्छ भन्ने कथालाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ ।

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।