‘आँखा’को ट्रेलर सार्वजनिक

‘आँखा’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको साढे २ मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तुको चित्रण गर्छ ।

सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीवन चलाउन गरेको संघर्ष र दुःखलाई प्रस्तुत गरिएको ट्रेलरले सिनेमाको दृश्यभाषा प्रभावशाली रहेको संकेत गर्छ । सिनेमाको सार्वजनिक ट्रेलरमा दुई मुख्य कलाकार स्मिता लामिछाने र आरके मेहता केन्द्रमा छन् । उनीहरु दम्पतीको भूमिकामा छन् । सिनेमाको ट्रेलरमा स्मिताको अभिनय मर्मस्पर्शी लाग्छ ।

जौन योन्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा स्मिता र आरकेसहित निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् । अलोक शुक्लाको छायांकन रहेको सिनेमाको निर्माता निर्देशक योन्जन हुन् ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको सिनेमामा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सह-निर्माता तथा राम बस्नेत लाइन प्रोड्यूसरमा छन् । कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको सिनेमाको गीतमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।