‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ’ सार्वजनिक

‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ’ सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टी श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ’ बोलको गीतमा रोहित जोन क्षेत्री र शितुसीत बस्नेतको स्वर तथा दीपेन्द्र गौचनको शब्द, संगीत रहेको छ ।

सार्वजनिक गीतमा संजोगले अचानक भएको भेटका एक युवक र युवतीको कथा भन्छ । सपनामा देखेजस्तो हो कि विपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ । गीतको भिडियोमा सुनेमाका मुख्य पात्र सृष्टि र नाजिर फिचर्ड छन् ।

सिनेमा ‘मिसिङ : केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमाको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ ।

यो सिनेमाको निर्देशन करिब ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् । उनी स्वयंम सिनेमाको निर्माता समेत हुन् ।

सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन सिनेमाको कार्यकारी निर्माताको रुपमा रहेका छन् ।