कार्तिक ९ बाट पोष्टपोण्ड भयो नाजिरको ‘गुन्यो चोलो’, कहिले होला रिलिज ?

कार्तिक ९ बाट पोष्टपोण्ड भयो नाजिरको ‘गुन्यो चोलो’, कहिले होला रिलिज ?

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । समुन्द्र भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘गुन्यो चोलो’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसअघि कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब कहिले रिलिज हुन्छ, त्यसको टुङ्गो नलागेको निर्देशक भट्टले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै जानकारी दिएकी छन् ।

निर्देशक समुन्द्र भट्टले केही विषय कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेको जनाएकी छन् । चाँडै एउटा ठूलो खबरसहित नयाँ प्रदर्शन मिति घोषणा गरिने उनको भनाई छ । अभिनेता नाजिर हुसेनले पहिलोपटक सिनेमा ‘गुन्यो चोलो’मा पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेका छन् । उनको ‘ट्रान्सवुमन लुक्स’ सार्वजनिक भएदेखि नै सिनेमाको चर्चा चुलिएको थियो । सिनेमाको चरित्रका लागि नाजिरले १५ केजी तौल घटाएका थिए ।

अमेरिकी कम्पनी भिजन ईन्टरटेन्मेन्ट र दि स्काई ओसन ईन्टरटेन्मेन्ट तथा सावसुङ स्टुडियोको ब्यानरमा निर्माण भएको सिनेमामा नाजिरसँगै सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाई लगायतको अभिनय छ । निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको सिनेमाको पोस्ट प्रोडक्सनको काम विदेशमा गरिएको छ ।

सिनेमामा आकाश बुढाथोकी र भि भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । सिनेमामा हलिउडकी लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्यूजिकको काम हलिउड सिनेमाका ट्रयाक उत्पादक मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । सिनेमाका छायाँकार भने अलोक शुक्ला हुन् ।

अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन । सिनेमामा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाइनर पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन ।