प्रदीप, आना र दिव्या स्टारर ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक

प्रदीप, आना र दिव्या स्टारर ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तिहारको लक्ष्मीपूजा अर्थात् कार्तिक १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको १ मिनेट ३२ सेकेण्ड लामो टिजरमा अभिनेता प्रदीप खड्का विभिन्न चरित्रमा प्रस्तुत छन् । कतै उनी पाइलटको पोशाकमा त कतै घाइते अवस्थामा देखिएका छन् ।

अभिनेता प्रदीप खड्कालाई सिनेमाका निर्माताले ‘सुपरस्टार’को ट्याग दिँदै टिजर सार्वजनिक गरेका हुन् । सम्भवतः पहिलो पटक उनलाई कुनै ‘ट्याग’ दिएर सिनेमाको प्रचार सामाग्री सार्वजनिक गरिएको हो । टिजरमा प्रदीप अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझीसँग रोमान्टिक पनि देखिएका छन् ।

अभिनेता राजबल्लभ कोइराला भने भिलेनको भूमिकामा छन् । टिजरको दोस्रो अन्तिम दृश्यमा उनले घाइते प्रदीपलाई भनिरहेका छन्, ‘योर ब्याड लक । दिस इज माई स्टोरी । क्लाइमेक्स पनि मेरो हातमा छ ।’ टिजरका दृश्य तथा संवादले सिनेमाप्रति दर्शकमाझ उत्साह बढाउन सफल हुने देखिन्छ ।

राजन भुसालको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा दिव्यदेव, उषा रजक, सुशील सिटौला लगायतको पनि अभिनय छ । थमनकुमार भण्डारीको निर्माण रहेको सिनेमाको सह–निर्मातामा अनिश भुसाल र क्रियटिभ प्रोड्युसरमा मोती कार्की छन् । सिनेमाको पटकथा तथा संवाद आकाश बराल र राजन भुसालले मिलेर लेखेका हुन् ।