‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । सिनेमाको ‘दाहिने हातैमा’ बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको छ ।

गाउँगाउँ डुलेर रोजीरोटीका लागि सारङ्गी रेट्दै गीतको भाकामा कथा सुनाउने गन्धर्वको यथार्थलाई गीतले देखाउँछ । गीतका शब्द मीठासपूर्ण लाग्नुका साथै गायन र संगीत कर्णप्रिय छ । सार्वजनिक गीत प्रेमिल भावको छ । मायालुको बखान गर्दै लुकीलुकी चौतारीमा भेटेको प्रसंग गीतले बोल्छ ।

अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीबीचको प्रेम गीतमा देखाइएको छ । विजयले गीतमार्फत् आफ्ना दुई साथी मुकुन भुसाल र बुद्धि तामाङलाई आफू जवान हुँदाको प्रेमकथा सुनाएका छन् । तर, गीतको अन्तिममा उनले त्यो सपना मात्र रहेको जनाउँछन् । सिनेमामा विजय र मुकुन गन्धर्वको भूमिकामा रहेको गीतले प्रष्ट पार्छ ।

सिनेमामा प्रकाश सपूत, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जाहन्वी पौडेल लगायतको अभिनय रहेको छ । निर्देशक पौडेलको कथा र महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको अवसर पारेर सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । यो सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।