‘छक्का पञ्जा ५’को ट्रेलर : भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष

‘छक्का पञ्जा ५’को ट्रेलर : भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शनमा आउने सिनेमा ‘छक्का पञ्जा ५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक सिनेमाको ४ मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकाश पारेको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्सलाई स्थान दिइएको छ । सिनेमामा दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने इमान्दार सरकारी जागिरे कर्मचारीको भूमिकामा देखाइएको छ । राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकारहरु पनि ट्रेलरमा प्रस्तुत छन् ।

यो सिनेमाका अघिल्ला सिरिजमा वैदेशिक रोजगार, वैदेशिक अध्ययन, विवाहेत्तर सम्बन्ध, विवाह, राजनीतिजस्ता आयामलाई कथावस्तु बनाइएको थियो । यसपटक ब्युरोक्रेसी र भ्रष्टाचारलाई मूल मुद्दा बनाइएको छ । सिनेमामा तेज गिरी, निर्मल शर्मा र अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिकामा अभिनय रहेको भएपनि निर्माण टिमले केही खुलाएको छैन् ।

आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको फिल्मले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ । दीपाश्री निरौला निर्देशित सिनेमामा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । सिनेमाको कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।

अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।