नेपाली रजतपटलाई समीरको पखाई, भन्छन्- वर्तमानमा रमाइरहेको छु

नेपाली रजतपटलाई समीरको पखाई, भन्छन्- वर्तमानमा रमाइरहेको छु

समीर भट्टले आफूले सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए । बुवा (बिराज भट्ट)लाई आदर्श मानेर उनकै योजनामा अगाडि बढिरहेको समीरले सुनाए । ‘१२ गाउँ’को काम गर्दागर्दै ‘बलिदान’मा पनि काम गरिरहेको र अहिले आफू यसमै रमाइरहेको उनले बताए ।

दिनेश सिटौला
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बिहीबारको अपराह्न कमलपोखरीस्थित नेपाल हाउसमा पत्रकारको चहलपहल थियो । नेपालमा हाउसमा सिनेमाका कार्यक्रम भइरहन्छन् । त्यसैले पत्रकारको उपस्थिति हुनु नौलो होइन ।

तर बिहीबार दिउँसैदेखि नेपाल हाउसमा पत्रकारको बाक्लो उपस्थिति थियो । पत्रकार कोही हिरोको प्रतिक्षामा थिए । नयाँ हिरोको पनि यति धेरै प्रतिक्षा ? प्रश्न स्वभाविक हो । तर, एउटै सिनेमा रिलिज नभई उनको गज्जब क्रेज छ बजारमा । अरुका सिनेमामा कन्टेनमा पनि उनको खोजी हुन्छ । प्रतिक्षालाई चिर्दै नयाँ हिरो आइपुगे ।

तिनै हिरोको प्रतिक्षा थियो । पत्रकारको प्रतिक्षालाई समाप्त गर्दै आइपुगे समीर भट्ट । सिनेमा ‘१२ गाउँ’को हिरो । गाडीबाट ओर्लिंदादेखि नै क्यामेरा उनीतर्फ तेर्सिए । कालो गेटअपमा बलिष्ट सुगठित शरीरका समीर मास्क लगाएर पत्रकार सम्मेनस्थल पुगे । केहीबेर वेटिङ रुममा बसेर कार्यक्रम स्थलमा पुग्दा हल पत्रकारले भरिएको थियो । दर्जनौं क्यामेरा ट्राइपोडमा रेडी थिए समीरलाई खिच्न ।

बाबु विराज भट्टसँगै मञ्चमा पुगे, समीर । साथमा थिए ‘१२ गाउँ’का अन्य कलाकार पनि । समीरले आफू पहिलोपटक पत्रकार सम्मेलनमा आएको बताए । मिडियाको साथ र सहयोगका लागि धन्यवाद दिए । ‘१२ गाउँ’को गीत, टिजर र ट्रेलरको प्रतिक्रियाप्रति सन्तुष्ट रहेको बताए । यसमा मिडियाले गरेको सहयोगप्रति नतमस्तक हुँदै धन्यवाद थिए ।

समीर भट्टले आफूले सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए । बुवा (बिराज भट्ट)लाई आदर्श मानेर उनकै योजनामा अगाडि बढिरहेको समीरले सुनाए । ‘१२ गाउँ’को काम गर्दागर्दै ‘बलिदान’मा पनि काम गरिरहेको र अहिले आफू यसमै रमाइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा उनले आफूप्रति दर्शकले दर्शाएको मायाको मुख्य कारण बुवा अर्थात् विराज भट्ट भएको बताए । चलचित्रमा क्षेत्रमा आउनुका पछाडि पनि बुवाको हात रहेको र उनकै गाइडेन्समा अहिले अगाडि बढिरहेको जानकारी दिए ।

‘अहिले १२ गाउँमा जे गरेको छु र जति मिहिनेत गरिरहेको छु, यसको सबै देन मेरो बुवा नै हो । मैले जे गरिरहेको छु, यसमा २० प्रतिशत मात्रै मेरो देन हो, बाँकी ८० प्रतिशत बुवाकै देन हो,’ उनले भने, ‘बुवा वास्तवमा रमाइलो मान्छे हो । घरमा बुवाआमा, ममी र मलाई हँसाइरहनुहुन्छ । तर, काममा भने उहाँ कहिल्यै रमाइलो गर्नुहुन्न । काममा सधैँ गम्भीर हुनुहुन्छ ।’

सेटमा भने कहिल्यै विराजले मजाक नगर्ने उनको भनाइ छ । यद्यपि, आफूले स्ट्रेस फिल नगरेको उनले बताए । राम्रो काम गन सधैँ प्ररित गर्ने उनको भनाइ छ । ‘सायद एउटै सिनका लागि कति टेक लिनु भनेर दिक्क मान्ने हो भने राम्रो काम हुँदैन,’ उनले भने ।

हरेक मान्छेको जीवनमा राम्रो गुरुको खाँचो हुने र त्यो आफ्ना लागि बुवा भएको उनले बताए । यसमा आफू भाग्यमानी रहेको उनको अनुभव छ ।

बुवाको कामप्रतिको लभाव र सक्रियता देखेर उनी स्वयं छक्क पर्छन् । बुवाजति एक्टिभ आफू हुन नसक्ने भन्दै समीरले बुवाको तारिफ गरे । आफूलाई बिराजको छोरा हुनुमा सधैँ गम्भीर गर्व रहेको र अब पनि सधैँ उनकै छोरा भनेर चिनिन पाउँदा खुसी लाग्ने उनको भनाइ छ ।

‘अहिले मलाई सबैले विराज भट्टको छोरा भनेर चिन्नुहुन्छ । अबको २० र ३० वर्षपछि पनि उहाँकै छोरा भएर चिनिन पाउँदा मलाई अझै खुसी लाग्नेछ,’ उनले भने ।

समिरले सिनेमाका निम्ति भनेर आफूले मुम्बईमा बसेर १० वर्षदेखि तयारी गरेको स्मरण गरे । तर आफू जुन सिनेमामा ा काम गरिरहेको हो त्यसभन्दा पर गएर पछिका बारेमा धेरै नसोच्ने गरेको उनको भनाइ छ ।

‘धेरै प्लानिङ गरेर काम गर्दा पनि सधैँ त्यसअनुरूप हुन्छ भन्ने हुँदैन । सोचेजस्तो भएन भने पीडा हुन्छ,’ समीर भन्छन्, ‘त्यसैले वर्तमानमा म १२ गाउँको काममा छु । त्यसपछि बलिदानमा छु । यसमा मिहिनेत गरिरहेको छु । वर्तमानमै रमाइरहेको छु ।’

चलचित्रमा बुवा र आफ्नो अपोजिटमा को छ भन्ने उनले खुलाएनन् । गीतमा देखिएजस्तो नहुन पनि सक्ने तर यसबारे आफूले केही नबोल्ने उनले बताए । एक्सन विधामा ‘१२ गाउँ’ले छुट्टै स्थान लिने उनको विश्वास छ ।

‘१२ गाउँ’ यही असोज २४ गतेबाट रिलिज हुँदै छ । आफू अहिलेसम्म सामाजिक सञ्जालमा एक्टिभ नरहेको उनले बताए । अक केही समयमै सामाजिक सञ्जालमा एक्टिभ हुने उनले जानकारी दिए । यही सिनेमाबाट अभिनेत्रीको रुपमा न्यान्सी खड्काले पनि नेपाली रजतपटमा डेव्यु गरेकी छन् ।

यो सिनेमामा विराज, समीर र न्यान्सीसँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।