‘बेहुली फ्रम मेघौली’को आक्रामक ब्यापार जारी, तीन दिनमा कमायो २ करोड २५ लाख

‘बेहुली फ्रम मेघौली’को आक्रामक ब्यापार जारी, तीन दिनमा कमायो २ करोड २५ लाख

पहिलो दिन बिहीबार ८० लाख ग्रस गरेको सिनेमाले शनिबार (हिजो) ९० लाख ग्रसकलेक्सन गरेको वितरक अशोक शर्माले बताएका छन् ।

द सिनेमा टाइम्स
532
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुखद ओपनिङ गरेको सिनेमा ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा २ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ ।पहिलो दिन बिहीबार ८० लाख ग्रस गरेको सिनेमाले शनिबार (हिजो) ९० लाख  ग्रसकलेक्सन गरेको वितरक अशोक शर्माले बताएका छन् । शुक्रबार यो सिनेमाले ५५ लाख ग्रस गरेको थियो ।

घटस्थापनाको दिन पारेर बिहीबार रिलिज भएको सिनेमाले बिदा बाहेकको दिनमा पनि कम्तीमा ४० देखि ५० लाख ग्रसकलेक्सन गर्ने देखिएको वितरक शर्माको भनाइ छ । यो सिनेमा अहिले औसतमा ७५ देखि ८० प्रतिशत अकुपेन्सीमा चलिरहेको उनले बताएका छन् ।

‘बेहुली फ्रम मेघौली’ले देशभर पहिलो दिन ३४० भन्दा धेरै शो पाएको थियो । नेपालमा यति धेरै शो पाउने यो पहिलो सिनेमा हो  ।राम्रो हाइप बनाएको सिनेमालाई दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथको फाइदा मिलिरहेको छ ।  महिलाको विषयलाई केन्द्रमा राखेर बनेको सिनेमाको यही पक्षले दर्शक तानिरहेको छ । सिनेमाले  शनिबार बिहानी शोबाट नै हाउसफूल व्यापारको सुरुवात गरेपछि सिनेमाको निर्माण टिम कलाकार सहित विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

सिनेमामा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । सिनेमा सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् । सिनेमामा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ । सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसपछिको उत्पन्न परिस्थितिको कथा पेस गर्छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानी छ ।अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ ।जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गरेको छ ।