‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं ।कात्तिक १५ गते रिलिज हुने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ ।आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ।
गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।सरोज पौडेलको कथा तथा निर्देशन रहेको सिनेमामा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ । सिनेमामा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो सिनेमाको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । सिनेमामा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए ।

सिनेमाको मुख्य भूमिकामा रहेका विजय बराल टिजर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, “यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ ।”

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको सिनेमामा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।
सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।