व्यवसायिकता लागि मात्र सिनेमा नखेल्ने खगेन्द्र लामिछाने !

व्यवसायिकता लागि मात्र सिनेमा नखेल्ने खगेन्द्र लामिछाने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले आफुले लेख्ने र खेल्ने सिनेमा व्यवसायिकताका लागि मात्र नभएको बताएका छन् ।

पोखरामा आयोजित ‘डमरुको डण्डिबियो’को पत्रकार भेटघाटमा बोल्दै लामिछानेले भने ‘मैले लेख्ने र खेल्ने फिल्म व्यबसायिकताको लागी मात्रै हुदैन । मलाई कुनै बिषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु, चल्ने नचल्ने फरक पाटो हो ।’

त्यस्तै ‘डमरुको डण्डिबियो’मा पुर्व राष्ट्रिय खेल डन्डीबियोको कथासँगै पारिवारिक कथा र मायाप्रेमसमेत देखाईएको लामिछानेले बताए ।

अर्का कलाकार बुद्धि तामाङले सिनेमाले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउनेसँगै खेलको महत्व झल्काउने बताए । पर्यटन व्यवसायीसमेत रहेका निर्माता बिनोद गुरुङले बन्दै आएका अन्य नेपाली फिल्म भन्दा विल्कुल फरक स्वादमा ‘डमरुको डण्डिबियो’ बनेको बताए ।

नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा खगेन्द्र र बुद्दीका अलावा मेनुका प्रधान, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

बैशाख २१ बाट अलनेपाल रिलिज हुने सिनेमाको ट्रेलरले युट्युबमा उम्दा प्रतिक्रिया पाइरहेको छ । पोखराको प्रेसमिटसँगै ‘डमरुको डण्डिबियो’ले मोफसल टुर सुरु गरेको छ । टिम पोखराबाट बुटवल , नारायणघाट , हेटौंडा दमक हुदै बिर्तामोड पुगेर राजधानी फिर्नेछ ।